काठमाडौं, १६ माघ । नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एमाले माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो । तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन् ।

दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

१७ असोजमा वाम गठबन्धन घोषणा गर्दा दुई शीर्ष नेताले पार्टी एकतासम्म जाने लक्ष्य लिए पनि यो बिन्दुमा आइपुग्दा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको पदीय व्यवस्थापन पेचिलो बन्दै गएको छ । एक माओवादी शीर्षस्थ नेताका भनाइमा, ‘दुई पार्टी एकता अहिले एकीकृत पार्टीको अध्यक्षमा आएर अड्किएको छ ।’

नयाँ सरकारको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओलीले लिन खोज्दा एकतामा ढिलाइ हुन पुगेको माओवादीको भनाइ छ । एमालेले यो विषयमा अझै निष्कर्षमा पुगिनसकेको बताएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘नेतृत्वले भित्री तहमा गरेका छलफलबारे प्रस्ट थाहा नपाएर कतिपय नेताले फरक खाले विचार प्रवाह गरिरहनुभएको छ, यथार्थ त्यस्तो होइन ।’

उनले अन्तिम घडीमा विभिन्न खाले चिन्ता र रस्साकस्सी चल्नु अनौठो नभएको भन्दै त्यसलाई एकतामै अप्ठ्यारो पर्न लागेको अर्थमा बुझ्न नहुने बताएका छन् ।

तपाईको प्रतिक्रिया