रुकुमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र सहित ३० भन्दा बढी विभिन्न आविष्कार गरेका छन् । मुसीकोट नगरपालिका ११ भलाक्चा स्यावाङ घर भई हाल पद्मोदय नमूना मावि दाङमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत वसन्त ओलीले यस्तो आविष्कार गरेका हुन् ।

ओलीले बनाएका केही उपकरण विक्रीका लागि समेत बजारमा आइसकेका छन् । ‘मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो’– २१ बर्षे ओलीले भने– ‘यसमा पहिले नै मोवाइल नम्बर सेट गरिएको हुन्छ, कोठामा कोहि प्रवेश गार्यो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ ।’

सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिबिधिको आवाज समेत सुन्न सकिने उनले बताए । रातिको समयमा पसल, घर, कार्यालय लगाएतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वास सहित आफूले उपकरण तयार पारेको ओलीको भनाई छ । यसलाई थप व्यवस्थित बनाउँन निरन्तर मेहनत गरिरहेको पनि ओलीले बताए ।

ओलीले घरको छतमा राखिएको पानीको ट्यांकीमा आवश्यक पर्ने वाटर सेन्सर पनि बनाएका छन् । यसले ट्यांकीमा पानी सकिएपछि स्वतः विद्युतको मोटर अन गर्ने र पानी भरिएपछि स्वतः मोटर बन्द गर्ने काम गर्ने उनको दाबी छ । आफूले तयार पारेका एक सय वटा वाटर सेन्सर बिक्रीका लागि बजारमा गएको र माग बढिरहेको उनले जानकारी दिए । त्यस्तै दिउँसोमा आफै निभ्ने र रातिमा आफै बल्ने अटोमेटिक बत्ती पनि बनाएर प्रयोग गरिरहेको उनि बताउँछन् । नयाँ पत्रिकामा खबर छ ।

रुकुमको बालकल्याण मावि झुल्खेतबाट माध्यामिक शिक्षा उत्तिर्ण गरेका ओलीले सानो कक्षामै पढ्दा देखि घरेलु प्रविधिबाट विद्युत उपकरण बनाउने तर्फ चासो बढेको बताए । अहिले पढाइ खर्चका लागि घरबाट आउने रकमबाट आधा खर्च बचाएर विद्युतिय उपकरण निर्माणमा लगाउने गरेको उनको भनाई छ । भविष्यमा राम्रो आविष्कारक बन्ने उनको लक्ष छ । त्यसका लागि आफुले नयाँ नयाँ र मानिसको दैनिकीसंग जोडिएका उपकरणहरु निर्माण गरिरहेको ओलीले बताए ।

तपाईको प्रतिक्रिया