काठमाडौँ, १५ माघ । नेपाली महिला कामदारलाई अवैध रुपमा विदेश पठाउँदै आएका तस्करका लागि पछिल्लो समयमा भारतीय ‘नेटवर्किङ’ व्यापार सजिलो बहाना बनेको छ । भारतमा सञ्चालनमा रहेका कम्पनीमा जागिर लगाइदिने, ती कम्पनीको सदस्य बनाइदिने भन्दै महिलालाई सीमा कटाउने तस्करले अन्ततः उनीहरुलाई विभिन्न मुलुक पुर्याउँदै आएका छन् ।

भारतमा सञ्चालनमा रहेका यस्ता नेटवर्किङ व्यापारसँग कुनै साइनो सम्बन्ध नै नभएकाले तिनै कम्पनीको फर्जी कागजात र प्रमाण देखाएर नेपाली महिलाको तस्करी गरिरहेका छन् । आफूलाई अवैध बाटो हुँदै विदेश पठाउन लागेको, त्यसरी विदेश पुग्दा अनेक अप्ठ्यारो भोग्नुपर्ने जोखिमबारे बेखबर महिला तस्करको प्रलोभनमा फस्दै आएका छन् ।

भारतीय बाटो हुँदै अवैध रुपमा बिदेसिएका झापाकै धेरै महिला वर्षौंदेखि बेखबर छन् । विदेशमा अनेक यातना सहन बाध्य भए पनि उनीहरु फर्कन सकेका छैनन् । नेपाली महिला विदेश पठाउँदै कमिसन लिन पल्केको गिरोहले भने यो धन्दालाई नयाँनयाँ बहानामा अघि बढाइरहेको छ । मानव तस्करीको संगठित अपराध चलाइरहेकासम्म प्रहरी पुग्न नसक्दा यो क्रम रोकिनुभन्दा तीव्र बनिरहेको छ ।नागरिक दैनिकमा खबर छ ।

इलाम चुलाचुलीकी सरिता फुयाल (नाम परिवर्तन) लाई केही साताअघि पूर्वको काँकडभिट्टा नाकामा रहेका माइती नेपालका प्रतिनिधिले रोके । उनी जान लागेको ठाउँबारे सोधपुछ गर्दा सरिताले ‘सिलिगुढीमा हाम्रो कम्पनी छ, त्यहीं जान लागेको’ भन्ने जबाफ दिइन् । उनले माइती नेपालको टोलीसँग ओरियन्ट नामक कम्पनीको नाम लिएकी थिइन् । पछि विस्तृत कुराकानीका क्रममा खुल्यो, सरिता कम्पनी होइन, कुवेत जान हिँडेकी रहिछन् ।

तपाईको प्रतिक्रिया