अधिवक्ता सुजित के.सी – भाषा अभिव्यक्तिको माध्यम मात्र होइन् । यसलाई विचार विनियम वा आदानप्रदान मात्र हो भन्नु गलत हो । यो त समाजिक संस्कृतिक परिचान पनि हो । भाषाले राष्ट्रियतालाई समेत प्रतिबिम्बित गरेको हुन्छ । यसको संरक्षण, सम्वद्र्धन र विकास गर्नु सबैको दायित्व पनि हो । भाषा कुनै पनि जाति वा सम्प्रदायको अस्तित्वसँग समेत गासिएको हुन्छ । यसमा धर्मको समेत सम्बन्ध रहेको हुन्छ । भाषाले कुनै पनि व्यक्तिको संस्कारलाई समेत प्रष्ट पार्दछ । तसर्थ भाषालाई सामान्य रुपमा सोच्नु र लिन अत्यन्त गलत हो । तर कुनै पनि व्यक्तिको मातृ भाषालाई छोडेर दोस्रो वा तेस्रो भाषा भने विल्कुल अभिव्यक्तिको माध्यम मात्र हो ।

वर्तमान अवस्थाको विश्वव्यापीकरणले गर्दा धेरै अल्पसंख्यक भाषाहरु लोपान्मुख छन । अंग्रेजी भाषाको साम्राज्यवाद दोस्रो विश्व युद्ध यता संसार भरि नै देख्न सकिन्छ । अंग्रेजीलाई जबरजस्ती बेलायतले अन्र्तराष्ट्रिय भाषाको रुपमा सुचीकृत गराएको छ । तर संसारमा अझै पनि अंग्रेजी भन्दा धेरै अन्य भाषा नै बोलिन्छ । नेपाल लगायत तेस्रो मुलुकको पाठ्यक्रम विकास केन्द्रमा बेलायत लगायतका विगतका औपनिवेशिक राष्ट्रहरुको अर्थ सहयोग रहेको छ । सायद त्यसैले पनि होला अहिले नेपाल लगायतका तेस्रो मुलुकमा भाषालाई माध्यमका रुपमा भन्दा पनि ज्ञानको रुपमा बुझिदैछ । विद्यालयमा पठन पाठन गर्दा समेत धेरै विषयहरु अंग्रेजीमा पढाईन्छ । नेपाली नै नेपाली भाषामा कमजोर हुने अवस्था बन्दै गएको छ । निजी विद्यालयहरुले भाषालाई ज्ञानको रुपमा प्रसार गरिरहेका छन् । भाषा अवसरको माध्य बन्न सक्दछन् । ज्ञान आर्जनको माध्यम पनि बन्न सक्दछ तर भाषा आफैमा भने ज्ञान होइन ।

नेपालमा हाल भाषा आयोग समेत गठन गरिएको छ । भाषा आयोगको मुख्य काम भनेकै मौलिक र रैथाने भाषाहरुको संरक्षण गर्नु हो । तर हाम्रो मौलिक भाषाको रुपमा रहेको संस्कृत भाषा आज संकटमा छ । राष्ट्रिय भाषा नेपालीलाई समेत चौतर्फी प्रहार भईरहेको छ । सरकारले अहिले ‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षरको सट्टा अंग्रेजी अक्षर राख्ने निर्णय गरेको छ । धेरैले आफ्नो सवारीमा नम्बर प्लेट परिवर्तन गरिरहेका छन् । यसको समाजिक संजालमा व्यापक विरोध र सामाजिक सञ्जालमा आलोचना समेत भईरहेको छ । नेपाली नम्बर प्लेट हटाउने निर्णय नेपाली भाषालाई देशव्यापी प्रचलनबाट विस्थापित गर्ने योजना पनि भएको आरोप लगाईएको छ । वास्तवमा सरकारी निर्णयले नेपाली भाषालाई विस्तारै विस्थापित गर्न खोजेको बुझ्न सकिन्छ ।

यातायात व्यवस्था विभागले बृहत छलफलपछि ग्लोबल भिलेजको अवधारणा आत्मसात गर्न अंग्रेजी अल्फावेट प्रयोग गर्ने निर्णय गरेको बताएका छन् । इम्बोस्ड नम्बर प्लेट जडान कार्य गत भदौ ५ देखि काठमाडौं उपत्यकामा ऐच्छिक रुपमा सुरु गरिएकोमा हाल विभागले बा १२ ‘च’ नम्बर सम्मका गाडीहरुलाई चैत मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समय सीमा दिएको छ । ऐच्छिक हुँदा इम्बोस्ड नम्बर प्लेट जडानप्रति आकर्षित नभएको देख्न सकिन्छ । विभागका अनुसार मोटरसाइकललाई २ हजार ५ सय, तीनपांग्रे सवारीलाई २९ सय, चारपांग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई ३६ सय रुपैयाँ लाग्छ । सामान्य रुपमा हेर्दा पनि कर संकलनका लागि नै इम्बोस्ड नम्बर प्लेट राख्न खोजिएको हो की जस्तो देखिन्छ ।

विश्वका विभिन्न देशलाई हेर्ने हो भने अधिकांश यस्तो निर्णयहरु गर्ने देश तेस्रो र गरिब मुलुकहरु नै पर्दछन् । चीनले समेत आफ्नो देशको सवारी साधनमा अंग्रेजी भाषाको प्रयोग गरेको छैन् । भाषा विकासको माध्यम पनि होइन् । आधुनिकता पनि होइन् । मात्र विदेशी प्रभाव र दबाबमा यसैलाई विस्तार गर्न कार्य भइरहेको छ । विदेशी भाषाको यस किसिमको विस्तारले नेपालको पहिचानलाई समेत संकटमा पर्दछ । भाषासँगको भावनात्मक सम्बन्ध समेत अन्त्य हुन्छ । यसले गर्दा नेपाली भित्र रहेको समवेदना र सद्भावमा समेत नकारात्मक प्रभाव पर्न सक्दछ ।

भारत र बेलायत आफ्नो भाषा संरक्षण र विस्तारको लागि सबै किसिमको हतकन्डा अप्नाईरहेका छन् । नेपालले भने आफ्नो भाषा संरक्षणमा कुनै पनि कदम चालिरहेको छैन् । यसरी नै धर्म, भाषा, संस्कृतिमा प्रहार हुँदै जाने र नेपालीहरुले त्यसको भनक समेत नपाउदा नेपाली जातिको अस्तित्व नै संकटमा पर्नेछ । अंग्रेजी भाषा नजानेका डाक्टर, वैज्ञानिकहरुकै संसारमा वाहुल्यता रहेको छ । अंग्रेजी भाषालाई मात्र माध्यमको रुपमा राखीनु पर्दछ । नेपालले यसलाई कामकाजीको भाषा वा यस्तै यस्तै सन्दर्भ र विषयका लागि प्रयोग गरिनु हुँदैन् । अन्यथा यसले भविष्यमा नेपाली भाषालाई विस्थापित गरिदिनेछ ।

तपाईको प्रतिक्रिया