रत्ननगर, चितवन, ८ माघ – आफै बेवारिसे हुनुभएका मकवानपुर कुलेखानीका ७१ वर्षीय हेमन्तकुमार लामा नौ महिनाका बालक ‘सर्वाेत्कृष्ट’लाई काखमा राखेर खेलाउँदै हुनुहुन्थ्यो । लमजुङको सडकमा बेवारिसे अवस्थामा भेटिएकी एक महिलाबाट जन्मिएका हुन् ‘सर्वाेत्कृष्ट’ ।

लामालाई नारायणगढको सडकपेटीमा बेवारिसे अवस्थामा फेला पारी तीनहप्ता पहिले उद्धार गरिएको थियो । दुवैजनाको भेट मानवसेवा आश्रम चितवनमा भएपछि अहिले दुबैजना हजुरबुबा–नाति झैँ खेल्दै हुनुहुन्छ । पहिले आफैँ बेसहारा लामा अहिले अरु बेसहारालाई सहारा दिन थाल्नुभएको छ ।

मानसिक समस्या रहेको लामाको अहिले मुहार चम्किलो बन्दै गएको छ । सर्वाेत्कृष्ट र उनको आमाको अवस्था पनि चम्किलो भएको रेखदेख गर्दै आउनुभएकी अभियन्ता रुपा केसी बताउनुहुन्छ ।

अर्की महिला ‘गीता मानवसेवा’ लाई सडकपेटीबाट उद्धार गरिएको दुई वर्ष भयो । अहिले उहाँ आश्रममा अरुको स्याहारमा जुट्नु भएको छ, उद्धारताका उहाँको हातमा कीरा परेर औँला झरेको थियो तर अहिले कीरा परेको घाउमा खाटा बसिसकेको छ, मुहारमा चमक छाएको छ । आश्रमका अन्य असहायको सेवामा जुट्दै गीता सरसफाइ पनि गर्नुहुन्छ ।

गोर्खाबाट उद्धार गरेर ल्याइएका रघुवीर अछामी पनि अन्य असहायको रेखदेखमा खटिनुभएको छ । शुरुमा उहाँको खुट्टामा ठूलो घाउ थियो । घाउमा कीरा पनि परेको थियो । मानसिक अवस्थासमेत ठीक थिएन । “पहिले ड्रिङ्क गर्थें, दिमाग खुस्केको थियो, अहिले सब ठीक भा’छ, आफ्नो अनुभव बताउँदै अछामी भन्नुहुन्छ, “ल हेर्नुस् कीरा परेको ठाउँमा खाटो ।”

यी प्रतिनिधि पात्रमात्रै हुन् । पाँच वर्षमा यस्ता एक हजारलाई सडकबाट उठाएर ३०० भन्दा बढीलाई परिवारमा समेत पुनर्मिलन गराइसकेको मानवसेवा आश्रममा आज आयोजित पत्रकार सम्मेलनमा आश्रमका अध्यक्ष रामजी अधिकारी उल्लेख जानकारी दिनुहुन्छ ।

स्नेह र मायाले नै उनीहरुमा परिवर्तन आइहाल्ने त्यसपछि नियमित मनोविमर्श, सरसफाइ, औषधोपचारले कतिपयको पुरानै जीवन फर्किएको उहाँ बताउनुहुन्छ

दशकौँदेखि घरैमा दाम्लोमा बाँधिएर बस्न बाध्य मनोरोगीदेखि बलात्कारपछि सडकमै आश्रय लिने गर्भवतीसम्मलाई उद्धार गरी परिवारले नपाएको माया आश्रमले दिंदै आएको छ । सानी बालिका खुशी र बालक सम्भव यसैका उदाहरण हुन् । “शब्दमा बयान गर्नै नसिक्ने गरी सडकमा भेटिन्छन्”, समाजसेवी प्रेमप्रभा अधिकारी उद्धारको अनुभव सुनाउनुुहन्छ ।

चितवनमा अहिले ५८ जना यस्ता असहाय छन् । जसमा चार बालबालिका छन् । मानसिक स्थिति ठीक नभएकाले केही आमालाई आफ्नो बच्चा भन्ने ज्ञानसमेत छैन, आश्रमकी अभियन्ता निता केसी भन्नुहुन्छ । सडकमै हुँदा बलात्कृत भएर गर्भवती अवस्थामा उद्धार गरी आश्रममा ल्याएर जन्मिएका बालबालिका अहिले हर्लक्क बढ्दै छन् ।

अशक्त, अपांग र मनोरोगीको स्याहारसुसार गर्नु यहाँका अभियन्ताको मुख्य काम हो । शरीरमा घाउ भएर कीरा परेको कुहिएको अवस्थाबाट पनि धेरैको उद्धार भएको छ । ‘सडक सेवा’ मार्फत राति सडकमा यस्ता व्यक्ति कहाँ कहाँ छन् भनेर खोजी गरी उद्धार गर्ने गरिएको छ ।

आश्रमका अभिभावक तथा सामाजसेवी प्रभातकुमार जोशीले उनीहरुको स्याहार गर्न भाडाको घर सकस भएकाले सबै मिलेर आश्रमलाई व्यवस्थित बनाउने योजनासहित जग्गाको बन्दोबस्ती गर्नतर्फ लागेको बताउनुहुन्छ ।

यसरी शुरु भयो उद्धारको काम

विसं २०६६ बाट शुरुमा विभिन्न जिल्लाका स्कूलमा नैतिक शिक्षा दिन थालियो पछि सर्वाेत्कृष्ट जीवन शाश्वत चिन्तनको नाममा काठमाडौबाट नैतिक शिक्षा दिन थालिएकोे थियो । यसको अगुवा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले गर्नुभएको हो ।

त्यसपछि सडकको अवस्था दयनीय देखेर उद्धार गर्ने सोच पलायो । विसं २०६९ बाट आश्रम नै चलाइ मानसिक सन्तुलन गुमाएर सडकमा पुगेकालाई उद्धार गर्ने र उपचारपछि परिवारमा पुनर्मिलन गराउने नमूना काममा युवा स्वयंसेवी भएर लागिपरेका छन् ।

आश्रम २०८२ सालसम्ममा नेपालका सडकमा कष्टकर अवस्थामा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको आश्रमले जनाएको छ तर स्रोत व्यवस्थापनका लागि स्थानीय सरकारबाट सहयोग नपाउनु नै चुनौतीको विषय बन्ने गरेको अनुभव अभियन्ताको छ ।

तपाईको प्रतिक्रिया