काठमाडौं, माघ ८- रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै खुट्टा गुमाए । सन् २०१० मा अफगानिस्तानमा विद्युतीय धरापमा परेपछि दुवै खुट्टा गुमाए पनि उनले मनभित्र लुकाएर राखेको सपना भने हराएन बरु झनै जीवन्त बनेर आयो ।

यही सपना पूरा गर्न ३८ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारी गरेका उनलाई सरकारले पर्वतारोहणसम्बन्धी नियमावलीमा थपेको नयाँ प्रावधान हिमालभन्दा ठूलो पर्खाल बनेर उभिएको छ । कीर्तिमान राख्ने भन्दै हिमाल आरोहण गर्नेको संख्या बढ्न थालेपछि सुरक्षालाई ध्यानमा राखेर गत पुस दोस्रो साता मन्त्रिपरिषद् बैठकले शारीरिक अशक्तलाई हिमाल आरोहणमा बन्देज लगाउने निर्णय ग¥यो । यही निर्णय अहिले आफ्ना सामु ‘विभेदको सगरमाथा’ बनेर तेर्सिएको उनी बताउँछन् । सरकारले पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ३ को उपदफा २ संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई आरोहण अनुमतिमा रोक लगाएको छ ।

अफगानिस्तानमा लडाइँका क्रममा विद्युतीय धरापमा परेर दुवै खुट्टा गुमाएका उनले सगरमाथा चढ्ने सपना नेपाल सरकारले बनाएको कानुनले धरापमा परेको बताए । ताालिवान र अलकायदाविरुद्धको कारबाहीमा अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सैनिक संगठन (नेटो) सैनिकका रुपमा सन् २०१० को अप्रिलमा अफगानिस्तान पुगेका बेला धरापमा परेर दुवै खुट्टा गुमाउँदा पनि जीवनप्रति निराश नदेखिएका उनी हिमाल आरोहणसम्बन्धी सरकारको पछिल्लो निर्णयले दुःखी छन् ।

‘सगरमाथा चढ्ने तालिम लिने क्रममा अघिल्लो महिना मुस्ताङमा छँदा आरोहणमा सरकारले बनाएको नयाँ व्यवस्थासम्बन्धी खबर सुनें,’ उनले भने, ‘थोराङलामै मैले विभेदको सगरमाथा देखें ।’ विद्युतीय विस्फोटमा नमरेको सपना नेपाल सरकारको कानुनी धरापमा परेको उनले बताए । सरकारले भनेजस्तै उनलाई पनि आफ्नो सुरक्षाको चिन्ता छ । हिमाल आरोहणका लागि सुरक्षा उपाय अपनाउनुपर्नेमा उनी पनि सहमत छन् तर खुट्टा नभएकै कारण मात्र देखाएर आरोहणमा रोक लगाउनु दुर्भाग्य भएको उनी बताउँछन् ।

जिन्दगीमा सजिलो त केही पनि नभएको ठान्ने उनले अप्ठेरालाई आफूअनुकूल ढाल्ने प्रयास गर्नुपर्ने उनले बताए । ‘खुट्टा नभएकोमा अप्ठेरो त मलाई नै छ,’ उनले भने, ‘तर पनि हिमालको उकालो सजिलो भएको अनुभव मैले पनि गरेको छु ।’ सगरमाथा चढेर परिवारसँगै बस्ने उनको योजना छ । ‘मैले मर्न सगरमाथा चढ् खोजेको हैन, मजस्ताको मनोबल बढाउन चढ्न खोजेको हुँ,’ उनले भने, ‘आवश्यक सुरक्षाको सबै तयारी मैले पूरा गरिसकेको छु ।’ आफूले लगाउने कृत्रिम खुट्टा नाम चलेको अन्तर्राष्ट्रिय कम्पनीले निर्माण गरिसकेको जानकारी गराउँदै ढुक्कसाथ सगरमाथा चढ्न सक्षम रहेको दाबी उनले गरे ।

अमेरिकन प्रोस्थेटिक्स–अर्थोटिक्स एसोसिएट्स कम्पनीले हिमाल आरोहण गर्न सजिलो हुने कृत्रिम खुट्टा बनाइदिएको जानकारी गराउँदै उनले त्यसमा चाहिने आधुनिक उपकरणका लागि अन्य कम्पनीको सम्पर्कमा रहेको बताए । ‘मेरै लागि नयाँनयाँ इन्भेन्सन पनि भएका छन्,’ उनी भन्छन्, ‘यसले आगामी दिनमा अपांगता भएका मानिसका लागि हिमाल आरोहण झनै सहज बनाउनेछ ।’ यो खबर उपेन्द्र लामिछानेले आजको नागरिकमा लेखेका छन्।

उनी गुम्सेर जीवन बिताउनुभन्दा रहर पूरा गरेर मर्नु बढ्ता बुद्धिमानी ठान्छन् । ‘मलाई थाह छ म सगरमाथा चढेर फर्कन्छु,’ उनी भन्छन, ‘सगरमाथा चढ्न पाए मलाई जीवनप्रति केही गुनासो हुने छैन ।’ उमेरमा स्वदेशमा नोकरी नपाएका कारण बन्दुक बोकेर लाहुरे हुनुपरेको उनले सुनाए । ‘पहाडमा जन्मेको मानिस विदेशी सेनामा भर्ती भएर मरुभूमीमा लड्न जाँदा सरकार बोल्दैन,’ उनी भन्छन्, ‘मैले बाल्यकालदेखि देखेको सगरमाथि आरोहणको सपना पूरा गर्छुभन्दा तगारो हाल्छ ।’

तपाईको प्रतिक्रिया