तोकिएको समयभन्दा ६ वर्ष ढिलोगरी शनिबारदेखि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ ।२०६४ मा निर्माण सुरु भएर २०६८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको शुक्रबारसम्म परीक्षण उत्पादन सकेर शनिबारदेखि पहिलो युनिटको उत्पादन सुरु भएको हो । कारोबार दैनिकमा खबर छ ।

“शुक्रबारसम्म परीक्षण उत्पादन भएकोमा शनिबारदेखि १५ मेगावाटको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ,” आयोजना प्रमुख अजय दाहालले भने, “१५ मेगावाटको दोस्रो युनिटको परीक्षण उत्पादन आइतबारदेखि हुँदैछ ।” उनका अनुसार, पहिलो युनिटबाट १५ मेगावाट उत्पादन भइरहेको छ भने दोस्रो युनिटको परीक्षण उत्पादनपछि दुवैको लोड रिजेक्सन र इफिसिएन्सी परीक्षण हुनेछ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा रहेको आयोजना सुदुरपश्चिमकै पहिलो ठूलो आयोजना हो भने नेपालको जलविद्युत् क्षेत्रमा प्रतिमेगावाट ५३ करोडभन्दा बढी लागत लागेको एकमात्र आयोजना हो । ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना सम्पन्न हुन दोब्बरभन्दा बढी समयसमेत लागेको थियो ।

तपाईको प्रतिक्रिया