नेपालगन्ज । ‘बघौडा क्षेत्र’ भनेर चिनिने बाँकेको विकट नरैनापुरमा बाणिज्य बैंक पुगेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा आइतबार देखि सनराइज बैंकले आफ्नो सेवा शुरु गरेको हो । प्रत्येक स्थानीय तहमा एक बाणिज्य बैंक स्थापना गर्ने नीति अनुसार नरैनापुरमा बैंक स्थापना गरिएको हो । आइतबार एक कार्यक्रमका बीच सनराइज बैंकको नरैनापुर शाखाको उद्घाटन गरिएको सनराइज बैंक नेपालगञ्ज शाखाका प्रबन्धक दिपक खनालले बताए । नरैनापुर शाखाको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह र नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक गुरुप्रसाद पौडेलले संयुक्तरुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साहले गाउँघरमै बैंक आएपछि सर्वसाधारणलाई आर्थिक कारोबार गर्न सजिलो भएको बताउँदै सबैलाई खाता खोलेर सुविधा लिन आह्वान गरे । शाहले विदेशबाट आफन्तजनले कमाएर पठाएको पैसा अब गाउँमै आउने भन्दै बजार धाउनुपर्ने बाध्यता टरेको बताए । राष्ट्र बैंकका निर्देशक पौडेलले बैंक स्थापनासंगै विकासको बाटो खुलेको बताउँदै भारतीय रुपैयाँको कारोबार बन्द गरी अब नेपाली रुपैयाँलाई प्रश्रय दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया