काठमाडौं, २ माघ । भ्रष्टाचार र अनिमियताले थलिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा भष्ट्रहरू फेरि सलबलाउन थालेका छन् ।

बलात्कारी छुटाउन अस्पतालको कागज बनाउने र अदालतमा पेस गर्ने नाइके लक्ष्मण अर्याल र निजको समूह नवराज धिताल, हिमालय तिवारी, बिष्णु फुयाँल बैकुण्ठ र लक्ष्मी केसी लगायतहरूले २०७१ सालदेखि वीर अस्पतालमा शाखा अधिकृत,नर्स,नासु पिएन मनखुसीले भर्ती गरेका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

एक सय ५० जना भर्ती गरी प्रति ब्यक्ति २/३ लाख असुलेर ४ करोड कमाए भने ट्रमा सेन्टरमा २ सय जना भर्ती गरेर अर्को ४ करोड अनियमित किसीमले कमाएका छन् । स्रोतका अनुसार वीरको सेवा आयोगको परिक्षामा पनि कापी परिवर्तन गरी आफु निकटलाई पास गराउँदै आएको छ । वीर अस्पतालमा हुने हरेक टेण्डरमा उनीहरूको समुहलाई कमिसन नबुझाई कसैलाई टेण्टर पर्न नदिने गरेको बताइन्छ । यो समुहले अरूलाई परेको टेण्डर रद्द समेत गराउँदै आएको छ ।

यो समुहले एउटै मेसिनमा मात्रै २० करोड कमिशन कुम्ल्याएको स्रोतको दाबी छ । ४२ करोडमा आउने मेसिनका लागि ६२ करोड खर्च गराए पनि कोही नबोलेको गुनासो वीर स्रोतले गरेको छ । ‘कसैले आवाज उठाए जागिर खानेसम्मको धम्की दिँदै आएका छन्’, स्रोतले भन्यो ।

वीरमा रहेको यो सेन्डिकेटलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि ध्यान दिएको छैन भने स्वास्थ्य मन्त्रालयले पनि आँखा चिम्लिएको गुनासो आउने गरेको छ । एक कर्मचारी भन्छन्,‘वीर अस्पताल त यि बलात्कारी र भ्रष्टको समूहको कमाउ अड्डा भएको छ यि समूहले ट्रमा सेन्टरमा पनि मनलाग्दी गरेका छन् ।’

यो समुहले औषधिमा पनि करोडौं कमिशन कुम्ल्याउने गरेका छन् । ‘हरेक ठाउँमा कमिशन नबुझाई काम गर्न सकिँदैन । पीडितको पक्षमा बोल्दा जागिर खाइदिने धम्की पाइन्छ ।’, स्रोतले भन्यो ।

शाखा, वार्ड, विभाग र स्टोरमा पनि यहि समुहको हालीमुहाली रहँदै आएको छ । यतिले मात्र नपुगेर कमिशन बढाउने सर्त राख्दै यो समुहले भीसी डा. गुरुङमार्फत दबाब दिइरहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया