काठमाडौं । सात सय ५३ स्थानीय तहमध्ये ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ। २३ स्थानीय तहको केन्द्र र ९ स्थानीय तहको नाम परिवर्तन गरिएको छ भने १४ वटा स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ। गाउँ तथा नगरसभाको सिफारिसकै आधारमा सरकारले गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ अनुसार स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो। जसमा गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्रमा सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट एकपटकका लागि स्थानीय तहको नाम, केन्द्र वा दुवै परिवर्तन गर्न सकिने उल्लेख छ।

गाउँ तथा नगरसभाबाट नाम वा केन्द्र हेरफेर गर्नका लागि प्रस्ताव पारित गरी सरकारलाई सिफारिस गरिएको खण्डमा सरकारले सो सिफारिस अनुसार गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र फेरिएको घोषणा गर्नुपर्ने कानूनी व्यवस्था छ । सरकारले गत २४ पुसको राजपत्रमा सूचना प्रकाशित गरी ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको जनाएको हो।

ताप्लेजुङको याङवरक गाउँपालिकाको नाम परिवर्तन गरी ‘पाथीभरा याङवरक गाउँपालिका’ बनाइएको छ । इलामको सन्दकपुर गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको छ। यस गाउँपालिकाको केन्द्र साविक माईपोखरी गाविसको कार्यालयमा रहेकामा परिवर्तन गरी वडा नम्बर ३ माबुमोड देउरालीलाई केन्द्र कायम गरिएको छ।

धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाको नाम परिवर्तन गरी ‘सहीदभूमि गाउँपालिका’ बनाइएको छ। सुनसरीको हरिनगरा गाउँपालिकाको नाम ‘हरिनगर गाउँपालिका’ कायम गरिएको छ। सुनसरीकै भोक्राहा गाउँपालिकाको भने नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ। यस गाउँपालिकाको नाम ‘भोक्राहा नरसिंह गाउँपालिका’ राखिएको छ भने केन्द्र चिरौली चोकलाई तोकिएको छ।

सोलुखुम्बुको दुधकौशीकाा गाउँपालिकालाई ‘थुलुङ दुधकोशी गाउँपालिका’ बनाइएको छ। यसैगरी खोटाङको लामिडाँडा गाउँपालिकाको नाम र केन्द्र दुवै हेरफेर गरिएको छ। नाम ‘रावाबेसी गाउँपालिका’ राखिएको छ भने केन्द्र वडा नम्बर १ कुभिण्डेलाई तोकिएको छ । यसअघि खार्पालाई केन्द्र तोकिएको थियो।

खोटाङकै साकेला गाउँपालिकाको केन्द्र साविकको मात्तिम रहेकामा परिवर्तन गरी मानेभञ्ज्याङ कायम गरिएको छ । खोटाङको वराहपोखरी गाउँपालिकाको केन्द्र पनि परिवर्तन गरी बाघखोर भञ्ज्याङ कायम गरिएको छ । दोलखाको बैतेश्वर गाउँपालिकाको केन्द्र परिवर्तन गरी पाँडुडाँडा कायम गरिएको छ।

रामेछापको लिखु गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ। नाम ‘लिखु तामाकोशी गाउँपालिका’ र केन्द्र मानेभञ्ज्याङ तोकिएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको केन्द्र परिवर्तन गरी वडा नम्बर ८ बाहुन ढोडेनी कायम गरिएको छ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिकाको केन्द्र परिवर्तन गरी क्रमशः ढाँडखर्क भञ्ज्याङ र देवीटार कायम गरिएको छ। यसैगरी मकवानपुरको वागमती गाउँपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको केन्द्र परिवर्तन गरी क्रमशः झुरझरे, हात्तिसुढे र रजैया कायम गरिएको छ।

चितवनको इच्छाकामना गाउँपालिकाको केन्द्र कुरिनटार तोकिएको छ। धादिङको नेत्रावती गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘नेत्रावती डबजोङ गाउँपालिका’ र केन्द्र सेमजोङलाई तोकिएको छ। नुवाकोटको मेघाङ गाउँपालिकाको नाम र केन्द्र दुवै हेरफेर गरी ‘म्यागङ गाउँपालिका’ र केन्द्र मानेब्ले कायम गरिएको छ । रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘आमाछोदिङमो गाउँपालिका’ र केन्द्र गोल्जुङबेसी तोकिएको छ।

मनाङको नाशोङ गाउँपालिकाको नाम ‘नासोँ गाउँपालिका’ कायम गरिएको छ । मनाङकै नेस्याङ गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘मनाङ डिस्याङ गाउँपालिका’ र केन्द्र हुम्डे तोकिएको छ । मनाङको नारफू गाउँपालिाको पनि नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘नार्पा भूमि गाउँपालिका’ र केन्द्र च्याँखु तोकिएको छ।

मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका र दालोमे गाउँपालिकाको नाम परिवर्तन गरी ‘वरागुङ मुक्तिक्षेत्र गाउँपालिका’ र ‘लो–घेकर दामोदरकुण्ड गाउँपालिका’ बनाइएको छ ।

म्याग्दीको रघुङगा गाउँपालिका, धवलागिरी गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाको केन्द्र परिवर्तन गरी क्रमशः मौवाफाँट, सातमुले र पोखरेबगर कायम गरिएको छ । गोरखाको सुलिकोट गाउँपालिकाको नाम हेरफेर गरी ‘बारपाक सुलिकोट गाउँपालिका’ बनाइएको छ भने भिमसेन गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ । नाम ‘भिमसेनथापा गाउँपालिका’ र केन्द्र घ्याम्पेसाल कायम गरिएको छ ।

तनहुँको घिरिङ गाउँपालिकाको केन्द्र पोखरीछाप कायम गरिएको छ । यसअघि जगरकोटलाई केन्द्र बनाइएको थियो । स्याङजाको गल्याङ नगरपालिकाको केन्द्र परिवर्तन गरी गल्याङ बजार कायम गरिएको छ ।

रोल्पाको दुईखोली गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरिएको छ । नाम ‘परिवर्तन गाउँपालिका’ र केन्द्र पुत्लाचौर राखिएको छ । यसअघि केन्द्र राङकोट रहेको थियो ।सल्यानको कुमाखमालिका गाउँपालिकाको पनि नाम र केन्द्र दुवै हेरफेर गरिएको छ । नाम ‘कुमाख गाउँपालिका’ र केन्द्र रागेचौरदेखि त्रिवेणीको बिचमा तोकिएको छ ।

सल्यानको ढोरचौर गाउँपालिकाको पनि नाम र केन्द्र परिवर्तन गरी नाम ‘सिद्ध कुमाख गाउँपालिका’ र केन्द्र ढोरचौर तोकिएको छ । सल्यानकै दार्मा गाउँपालिकाको भने केन्द्र परिवर्तन गरी फारुलाचौर राखिएको छ ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गरी सिमुतु खारानेटा तोकिएको छ । जाजरकोटको कुशे गाउँपालिकाको केन्द्र बाटुल्ले रहेकामा परिवर्तन गरी थर्पु भार्मा तोकिएको छ । जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाको भने नाम र केन्द्र दुवै हेरफेर गरिएको छ। नाम ‘नलगाड नगरपालिका’ र केन्द्र दल्ली तोकिएको छ ।

डोल्पाको मुड्केचुला गाउँपालिका र हुम्लाको नम्खा गाउँपालिकाको केन्द्र परिवर्तन गरी क्रमशः इलनिलदह र याङल्वाङ राखिएको छ। बाजुराको हिमाली गाउँपालिकाको केन्द्र परिवर्तन गरी धुलाचौर राखिएको छ। बाजुराकै पाण्डवगुफा गाउँपालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ। नाम ‘जगन्नाथ गाउँपालिका’ र केन्द्र जुड्डी बाजुरा तोकिएको छ।राजधानी दैनिकले छापेको छ ।

बझाङको काँडा गाउँपालिकाको नाम परिवर्तन गरी ‘सालपा गाउँपालिका’ कायम गरिएको छ । दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडा रहेकामा परिवर्तन गरी होपरीगाड तोकिएको छ

तपाईको प्रतिक्रिया