काठमाडौँ । वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदल गठन गरेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले दुवै पार्टीका नेताहरू रहेको ६ सदस्यीय संयुक्त कार्यदल गठन गर्नेसहित तीनबुँदे निर्णय गरेको हो ।

कार्यदललाई राष्ट्रिय सभा, प्रदेश संसद् र प्रदेश सरकार गठनसम्बन्धी समग्र गृहकार्य गर्ने कार्यादेश दिइएको छ । । बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको छलफलको सिलसिला ‘ब्रिफिङ’ गर्दै वाम सरकार गठन र पार्टी एकता गरेरै छाड्ने संयुक्त प्रतिबद्धता जनाएका थिए ।आजको नयाँ पत्रिकामा खबर छ

‘पार्टी एकता हुन्छ कि हुन्न भन्ने प्रश्नै छैन, यो ऐतिहासिक दायित्वबाट हामी पन्छिदैनौँ,’ दुवै नेताले बैठकमा जनाएको प्रतिबद्धता उद्धृत गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘पार्टी एकता र वाम सरकारकै नाममा ०१५ पछि सम्पन्न अहिलेसम्मको निर्वाचनमध्ये यसपटक झन्डै दुईतिहाइ सिटमा वाम गठबन्धनलाई जनताले जिताएका छन्, त्यसैले हामी जनताको त्यो जनादेश र विश्वास टुट्न दिँदैनौँ, वाम सरकार गठन र पार्टी एकता गर्ने ऐतिहासिक दायित्वबाट दायाँ–बायाँ हुनेछैनौँ ।’

तपाईको प्रतिक्रिया