काठमाडौं, २६ पुस । बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिट’ बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई पुस २३ गते चीनको कुनमिङ जाने क्रममा अध्यागमन जाँचका बेला पक्राउ गरेको हो ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पोर्चुगलको नक्कली राहदानीमा पुस १८ गते नेपाल छिरेका रहमान र हुसेनले कुनमिङ जाने क्रममा शंकास्पद व्यवहार देखाएपछि अध्यागमनका कर्मचारीले उनीहरूमाथि थप सोधपुछ र निगरानी गरेका थिए । त्यही क्रममा अध्यागमनका कर्मचारीले राहदानी परीक्षण गर्दा पोर्चुगलको राहदानी नक्कली भएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा उनीहरूको साथबाट बंगलादेश र पोर्चुगलको दुई वटा राहदानी भेटिएको थियो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले ती दुई बंगलादेशी नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको बताए । अध्यागमन विभागले ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

नेपाल आउने क्रममा विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले रहमान र हुसेनले प्रयोग गरेको पोर्चुगलको नक्कली राहदानीमा आगमन अनुमति(अराइभल) दिएका थिए ।

बंगलादेशस्थित नेपाली दूतावासले समेत पोर्चुगलको नक्कली राहदानीमा नेपालको भिसा लगाइदिएपछि विमानस्थल अध्यागमनका कर्मचारीले कुनै शंकाबिना उनीहरूलाई पोर्चुगलकै नागरिक सम्झी आगमन अनुमति दिएका थिए । बंगलादेशस्थित नेपाली दूतावासले पोर्चुगलको नक्कली राहदानीमा किन र कसरी नेपालको भिसा दियो भन्ने विषयचाहिँ रहस्यमय बनेको छ ।

अध्यागमनको हिरासतमा रहेका उनीहरूले बंगलादेशी नागरिक सज्जाद हुसेनको सहयोगमा पोर्चुगलको राहदानी खरिद गरेको र त्यसमा बंगलादेशबाट नेपाली भिसा लगाएको बयान दिएका छन् । हुसेनले उनीहरूलाई प्रतिव्यक्ति १० लाख रुपयाँमा पोर्चुगलको राहदानी बिक्री गरेका थिए ।

नेपाली दूतावासले नै भिसा जारी गरेको देखेपछि अध्यागमनका कर्मचारीले उनीहरूमाथि धेरै सोधखोजसमेत गरेनन् । पोर्चुगलको राहदानीमा नेपाली भिसा भएपछि बिनासंकोच अध्यागमन अधिकृतले उनीहरूलाई आगमन अनुमति दिएका हुन् ।

पाँच दिनको नेपाल बसाइपछि जब उनीहरू चीनको कुनमिङ हुँदै इटाली जान खोजे त्यसबेला मात्र अध्यागमनका अधिकारीहरूले पोर्चुगलको राहदानी नक्कली भएको भेउ पाए । बयानका क्रममा इटाली हिँडेको बताए पनि उनीहरूको साथमा भएको पोर्चुगल र बंगलादेशको राहदानीमा कुनै पनि युरोपेली मुलुकको भिसा छैन । उनीहरूले मानव तस्करको सेटिङ गर्दै आएका बंगलादेशी नागरिक सज्जाद हुसेनको सल्लाहबमोजिम नेपाल हुँदै युरोप जान लागेको बताएका छन् ।

रहमान र हुसेन बंगलादेशबाट चीनको कुनमिङ हुँदै युरोपेली मुलुक छिर्ने प्रयत्नमा थिए । मानव तस्करमा संलग्न हुसेनले पोर्चुगलको नक्कली राहदानीमा उनीहरूलाई ढाकास्थित नेपाली दूतावासबाट कसरी भिसा दिलाइदिए र किन उनले रहमान र हुसेनलाई नेपालको बाटो हुँदै युरोपेली मुलुक छिर्न सुझाए भन्ने विषय शंकास्पद बनेको छ ।

तपाईको प्रतिक्रिया