काठमाडौँ, २४ पुस-
नेपाली सेनाले साताँै राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।


सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको हो । उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम भएको थियो । प्रतियोगितामा सेनाका खेलाडीले ११३ स्वर्ण, ६४ रजत र ४७ कास्य पदक प्राप्त गर्न सफल भएका थिए । नेपाली सेनाका खेलाडीले धेरैजसो सामूहिक खेलमा पदक हासिल गर्न सफल भएका हुन् । प्रतियोगितामा नेपाली सेनाका ४४४ खेलाडी सहभागी थिए ।

खेलाडीलाई पदक वितरणपछि सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले खेलाडीको कडा अभ्यास र अनुशासनले सुखद् परिणाम र इतिहास रच्ने काममा सफलता मिलेको बताउनुभयो । उक्त प्रतियोगिता यही पुस ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा भएको थियो ।

समारोहमा महासेनानी मीनध्वज खड्काको गीति एलबम ‘कल्पना’को लोकापर्ण गरिएको थियो । उक्त एलबममा नेपाली सेनासँग सम्बन्धित विषयवस्तु र आधुनिक गरी छ वटा गीत समेटिएका छन् ।

तपाईको प्रतिक्रिया