तेह्रथुम। तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन्।

सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका हुन्।

यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात सेवासमेत सञ्चालन गरेका छन्। म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म दैनिक एक/एक वटा ट्याक्सी सञ्चालन भइरहेका छन्। कच्ची सडकबाटै भए पनि सवारी सञ्चालन हुन थालेपछि म्याङ्लुङबाट धनकुटा, सुनसरी, मोरङ र झापा हुँदै इलाम उक्लिएर फिदिमसम्म पुग्नुपर्ने बाध्यता हटेको छ।

एकफन्को मारेर फिदिम पुग्नुपर्ने अवस्थामा ट्याक्सी सञ्चालन हुन थालेपछि यस क्षेत्रका यात्रुलाई सुविधा मिलेको छ। लामो समयपछि दुई जिल्ला सदरमुकामलाई यातायात सञ्जालले जोडेपछि दुवै जिल्लावासीलाई सहज भएको छ। सवारी साधन सञ्चालन नहुँदा म्याङ्लुङ र फिदिम आवतजावत गर्दा पाँच जिल्ला हुँदै महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता थियो भने कम्तीमा पनि दुई दिनको यात्रा तय गर्नु पर्दथ्यो।

म्याङ्लुङ बसपार्कबाट फेदापको पोक्लाबाङ हुँदै थोक्लुङ–माझीटार सडकखण्डबाट पाँच घण्टामा फिदिम पुगिने ट्याक्सी चालक कुमार लिम्बूले बताए। “सडक कच्ची भए पनि चाँडै पुगिन्छ, यात्रु पनि पर्याप्त छन्”– चालक लिम्बूले भने। प्रादेशिक राजधानी माग गर्दै धनकुटा बन्दसमेत हुन थालेपछि अहिले तेह्रथुमबाट पाँचथर, इलाम, झापा हुँदै मोरङ आउनेसमेत यही सडकलाई वैकल्पिक मार्गकारुपमा प्रयोग गर्न थालेका छन्।

तेह्रथुमबाट ताप्लेजुङ र इलाम जाने यो सडक भएर सार्वजनिक सवारीबाटै एकै दिनमा पुग्न सक्छन्। “यो बाटो भएर ताप्लेजुङ, इलाम जाने पनि धेरै छन्, भाडा पनि सस्तो पर्छ, अहिले त यात्रुको पनि खाँचो छैन”– व्यवसायी सन्तोष निङलेकुले भने। अहिले सडकको बाटो खोलेसँगै सवारी सञ्चालन भएपछि वर्षा लागेपछि यो सडक सञ्चालन हुने सम्भावना देखिँदैन। सो सडक खण्डको कोयाखोलामा पुल छैन भने सडकलाई समेत स्तरोन्नतिको खाँचो छ।

तपाईको प्रतिक्रिया