काठमाडौं, २३ पुस । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने एकीकृत पार्टीमा दुवै दलका दोस्रो तहका नेताहरूले अहिल्यैदेखि ‘स्पेस’ खोजी गर्न थालेका छन् ।

वाम गठबन्धनका दुई प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड एकताको ‘मोडल’ टुंगो लगाउन निरन्तर अनौपचारिक संवादमा छन् । ओली अस्वस्थ बनेकाले एक सातायता दुई नेताबीच भेटघाट नभए पनि निरन्तर टेलिफोन संवाद चलिरहेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, छलफल ठोस निष्कर्षमा नपुग्दै दुवै पार्टीका दोस्रो तहका नेताहरूले भने एकताको ‘मोडालिटी’मा फरक–फरक धारणा सार्वजनिक गर्दै अहिल्यैदेखि ‘स्पेस’ खोजी गर्न थालेका हुन् ।

त्यस्ता गतिविधिले एकतालाई असर पार्ने भन्दै रोक्न दुवै प्रमुख नेताले कडाइका साथ निर्देशन दिए पनि ‘मोडालिटी’का विषयमा फरक अभिव्यक्ति दिने क्रम रोकिएको छैन ।

एकीकृत पार्टीको महाधिवेशन नहुँदासम्म एकता प्रक्रिया जारी रहने भएकाले अहिल्यैदेखि आफूलाई केन्द्रबिन्दुमा राखेर दुवै पार्टीका दोस्रो तहका नेताहरूबाट फरक–फरक अभिव्यक्ति आउन थालेको ओली र प्रचण्डको बुझाइ छ ।

सरकार र पार्टी नेतृत्व फरक–फरक

दुई नेताबीच सरकारको नेतृत्व ओली र पार्टीको नेतृत्व प्रचण्डले नै गर्ने गरी छलफल चलिरहेको स्रोतको भनाइ छ । तर, दुवै पार्टीको सांगठनिक शक्ति र ताजा जनमत मध्यनजर गर्दै एकताको मोडालिटी टुंग्याउँदा आगामी महाधिवेशनसम्म ओली र प्रचण्ड अध्यक्ष र सहअध्यक्ष या दुवै सहअध्यक्षको भूमिका रहने विषयमा छलफल केन्द्रित भएको स्रोतले बतायो ।

यो मोडलअनुसार ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डले कार्यकारी प्रमुखका रूपमा महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने गरी छलफल अघि बढेको छ । तर, माओवादी केन्द्रको सचिवालय बैठकले भने प्रचण्डले अध्यक्ष नै लिएर एकता गर्नुपर्ने सुझाब दिएको छ ।

ओलीनिकट नेताहरूले प्रचण्डलाई महाधिवेशनसम्म पार्टी प्रमुखका रूपमा मान्न सकिने, तर अध्यक्ष नै भने दिन नहुने सुझाब दिएका छन् । एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले भने महाधिवेशनसम्मका लागि जुनसुकै विकल्पमा सहमति गर्दा पनि फरक नपर्ने भन्दै आफूहरू लचिलो रहेको सन्देश दिइरहेका छन् ।

एकताको मोडालिटी बनाउने काममा सक्रिय माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकता प्रक्रियालाई कसैले पनि रोक्न नसक्ने गरी धेरै अघि बढिसकेको बताए । ‘प्रक्रिया धेरै अघि बढिसकेको छ, को के बन्ने होइन,’ शर्माले भने, ‘प्रमुख दुई नेताले जे अन्तिम निर्णय लिनुहुन्छ, त्यसैलाई आधार मानेर सबै कुरा टुंगिँदै छ ।’

तीन सयको महाधिवेशन आयोजक कमिटी

दुवै दलबाट बढीमा तीन सयदेखि ३५० जनासम्मको एकीकृत पार्टीको महाधिवेशन आयोजक समिति बनाउने र शीर्ष नेताहरू रहेको छरितो केन्द्रीय सचिवालयअन्तर्गत विभिन्न तयारी समिति बनाएर जाने गरी छलफल चलिरहेको नेताहरूको भनाइ छ । अहिलेको एकता संयोजन समितिमै रहेका नेताहरू रहेको सचिवालयअन्तर्गत एकीकृत पार्टीको दस्ताबेज लेखन, सांगठनिक एकीकरण तयारीलगायत उपसमिति बनाएर जाने विषयमा पनि छलफल चलिरहेको छ ।

यस्तो छ, दोस्रो तहका नेताको स्वार्थ

एमालेमा माधवकुमार नेपाल र झलनाथ खनाल मात्र पार्टी प्रमुख भइसकेका नेता हुन् । शीर्ष यी दुईमध्ये नेपालले एकीकृत पार्टीमा जुनसुकै भूमिकामा रहेर योगदान गर्न तयार रहेको प्रतिबद्धता जनाइसकेका छन् । खनालले राष्ट्रपति बन्ने चाहना सार्वजनिक रूपमै प्रकट गरेका छन् ।

त्यस्तै, गठबन्धन निर्माण र एकतामा खटिएका एमाले उपाध्यक्ष वामदेव गौतम र नेता नारायणकाजी श्रेष्ठ निर्वाचनमा पराजित भए पनि एकीकृत पार्टीमा भूमिका पुनस्र्थापित होस् भन्ने चाहन्छन् । महासचिवको जिम्मेवारीमा रहेकाले ईश्वर पोखरेलले महाधिवेशनसम्मका लागि बरु दुईवटा महासचिव पद राखेर भए पनि सांगठनिक पकड कायम राख्न चाहिरहेका छन् ।

अहिलेकै विधान कायम रहेमा आउने महाधिवेशनबाहेक अर्कोपटक उमेरले नेतृत्वको अवसर नदिने भएकाले पोखरेलले सरकारमा समेत उपप्रधानमन्त्री लिएर ओलीको भावी उत्तराधिकारीका रूपमा आफूलाई उभ्याउन खोजिरहेका छन् ।

त्यही कारण उनले ओली नै प्रधानमन्त्री, अध्यक्ष र संसदीय दलको नेता रहनुपर्ने अडान सार्वजनिक गरेको उनीनिकट स्रोतको दाबी छ । नेतृत्वका लागि अघि बढिरहेका भीम रावल र सुरेन्द्र पाण्डेले पनि पुनः नयाँ मन्त्रिपरिषद्मा दाबी गरेका छन् ।

माओवादी केन्द्रबाट नेताहरू रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्माले नयाँ सरकारमा महत्वपूर्ण मन्त्रालयमा अहिल्यैदेखि दाबी प्रस्तुत गरिरहेका छन् । घनश्याम भुसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, शंकर पोखरेललगायत नेताले एकीकृत पार्टीको सिद्धान्त र समाजवादलक्षित कार्यदिशाबारे बहस प्रारम्भ गर्दै भावी दिनमा पनि नेतृत्वमा उभ्याउने कसरत गरिरहेका छन् । यी नेताहरूले आफूलाई दस्ताबेज लेखन समितिमा पार्नसमेत अहिल्यैदेखि दबाब सिर्जना गरेको स्रोतको भनाइ छ ।

जथाभावी अभिव्यक्ति नदिन निर्देशन

एकता प्रक्रियाको मोडालिटीबारे जथाभावी अभिव्यक्ति नदिन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोस्रो तहका नेताहरूलाई आन्तरिक निर्देशन दिएका छन् । ओलीले बुधबार महासचिव पोखरेल, सचिव प्रदीप ज्ञवालीलगायतसँग एकताको मोडालिटीबारे छलफल गरेका थिए । उनले प्रक्रिया नटुंगिएसम्म एकताबारे व्यक्तिगत धारणा व्यक्त गर्दा संवेदनशीलतालाई ख्याल गर्न पोखरेल र ज्ञवालीमार्फत सबै नेताको ध्यानाकर्षण गराएका छन् ।

ओली–नेपाल छलफल

एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच पार्टी एकताका विषयमा केन्द्रित रहेर बिहीबार छलफल भएको छ । बालकोटस्थित निवासमै ओलीले बुधबार महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेलसँग एकतामा केन्द्रित रहेर छुट्टै कुराकानी गरेका थिए । नेपालका स्वकीय सचिव मोहन गौतमले अध्यक्ष ओलीलाई स्वास्थ्यलाभको कामना गर्ने सन्दर्भमा दुई नेताबीच भेटवार्ता भएको बताए ।

कतिपय नेताले ‘स्पेस’ खोजेको देखिन्छ : श्याम श्रेष्ठ, वाम विश्लेषक

हामीकहाँ मुख्य नेताले आफ्ना कुरा सहायक र मध्यम नेताहरूमार्फत बोल्न लगाउने प्रचलन छ । त्यसैले एकताका सन्दर्भमा नेतृत्वलाई लिएर बाहिर आएका कतिपय कुरा शीर्ष नेताकै अभिव्यक्ति हो कि जस्तो लाग्छ ।

तर, कतिपय नेताले चाहिँ आफ्नो ‘स्पेस’लाई केन्द्रबिन्दु बनाएर पनि अभिव्यक्ति दिइरहेको देखिन्छ । गाँठो नेतृत्व बाँडफाँडमै देखिए पनि कुरा नमिलेको जस्तो, नमिल्ने जस्तो पनि देखिँदैन । दुवै पार्टी जुन ढंगले अघि बढेका छन्, त्यस आधारमा एकता टुट्ने स्थिति देखिँदैन ।

तपाईको प्रतिक्रिया