काठमाडौं, २३ पुस ।एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि गठन भएको एकता संयोजन समितिको बैठक नबोलाइएकोमा नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । एकता संयोजक समितिको बैठक बस्नुपर्ने माग उनीहरूले गरेका छन् ।

एमाले वरिष्ठ नेता एवं एकता संयोजन समितिका सदस्यसमेत रहेका झलनाथ खनालले एकता संयोजन समितिको बैठक बोलाउन माग गरेका छन् ।

दुई पार्टीबीच एकताका लागि आवश्यक छलफल गर्न बैठक आवश्यक भए पनि नबोलाइएकोमा उनले असन्तुष्टि व्यक्त गरे । राजधानी दैनिकले समाचार छापेको छ ।

‘एकता संयोजन समितिले छलफल गर्नुपर्छ, त्यसका लागि बैठक आवश्यक छ,’ इलाममा रहेका खनालले भने, ‘पार्टी एकता कसरी भइरहेको छ, सर्वाधिक चासोको विषय बनेको छ, नबोलाइएका कारण बस्न नसकेको हो ।’ दुई पार्टी एक हुने विश्वासका साथ जनताले मतदान गरेको बताउँदै उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरबाटै एकता प्रक्रिया चासोका साथ हेरिएकाले संयोजन समितिको बैठक बोलाउनुपर्ने बताए ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअघि संयुक्त घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए । निर्वाचनमा साझा उम्मेदवार दिएका दुई पार्टीको वाम गठबन्धनले बहुमतसहितको सिट जितेको छ । तर, निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पटकपटक छलफल भने भइसकेको छ ।

दुई अध्यक्षका साथै शीर्ष नेताबीच छलफल भए पनि एकता संयोजन समितिको बैठक बस्न सकेको छ्रैन । पार्टी एकतापछि नेताहरूको व्यवस्थापन र समायोजन कुन मोडेलअनुसार गर्ने भन्ने विषयमै छलफल केन्द्रित भएकाले समितिको बैठक बस्न नसकेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका नेता विश्वनाथ साहले एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता प्रक्रियालाई टुंगोमा पु¥याउनुपर्ने बताए । ‘शीर्ष नेताबीच पार्टी एकता र सरकार निर्माण विषयमा छलफल भइरहेको छ,’ साहले भने, ‘तर पार्टी एकता प्रक्रिया टुंगोमा पु¥याउन एकता संयोजन समितिको बैठक बस्नु जरुरी छ ।’

एमाले र माओवादी नेताहरूको सम्मानजनक व्यवस्थापन र सम्मानजनक समायोजन कसरी गर्ने भन्ने विषयमा शीर्ष नेताबीच छलफल भइरहेको बताउने उनले निर्वाचनबाट पार्टी एकताका लागि जनताले स्वीकृति दिइसकेका ढिलाइ नगरी पार्टी एकताको घोषणा गर्नुपर्ने बताए ।

एमाले अध्यक्ष नियमित स्वास्थ्य परिक्षणका लागि २६ पुसमा थाईल्यान्डको राजधानी बैंकक जाने भएका छन् । नियमित उपचारका लागि उनी बैंकक जाने भएकाले एकता संयोजन समितिको बैठक अझै केही दिन लम्बिने भएको छ ।

स्वास्थ्य अवस्था ठीक नभएका कारण बालकोट निवासमै अराम गरिरहेका ओली सार्वजनिक कार्यक्रममा सहभागि भइरहेका छैनन् । ओलीका निजी सचिव राजेश बज्राचार्यले नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाने कार्यक्रम तय भएको बताए । सोमबारदेखि अस्वस्थ ओली बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठकमा सहभागी भएनन् । सार्वजनिक कार्यक्रमका साथै भेटघाटमा पनि समय नदिई उनी अराम गरिरहेका छन् ।

केही वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाने गरेका छन् । माओवादी केन्द्रका नेता साहले ओली नियमित उपचारपछि स्वदेश फर्किएपछि पार्टी एकता र सरकार निर्माणको विषयमा छलफल हुने बताए ।

तपाईको प्रतिक्रिया