काठमाडौँ – कालीकोटबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरूले प्रदेश नं ६ को प्रदेश मुख्यमन्त्री कर्णालीकै प्रतिनिधि हुनुपर्ने माग गरेका छन् ।

कर्णाली मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा प्रतिनिधिसभाका सांसद सदस्य दुर्गाबहादुर रावतले आर्थिक, सामाजिक, राजनीतिक र प्राकृतिकलगायत अन्य हिसाबले पनि ६ नं प्रदेशको मुख्य मन्त्री कर्णालीका प्रतिनिधि हुनुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेशको मुख्यमन्त्री कर्णालीकै व्यक्ति हुनुपर्छ, नाम एउटा काम अर्को मलाई स्वीकार्य हुँदैन, कर्णालीका जनतालाई पनि स्वीकार्य छैन ।

“ कर्णाली विगतका शासकबाट निरन्तर ठगिँदै आएको छ, अब हामीले कर्णालीका माग र मुद्दालाई लिएर सम्झौता गर्दैनौँ, कर्णालीको दुःख कर्णालीको प्रतिनिधिले मात्र बुझेको हुन्छ, त्यसैले कर्णाली प्रदेशलाई छुट्टै प्रदेशका रुपमा घोषणा गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

कालीकोटका प्रदेशसभाका सांसद महेन्द्रबहादुर शाहीले वाम गठबन्धनको सहमतिमा जो कोही हुन सक्ने प्रस्ट पार्नुभयो ।

कर्णाली मिडिया सेन्टरका अध्यक्ष नारायण गिरीले कर्णालीको विकास हेरेर प्रदेश नं ६ को राजधानी निर्धारण गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया