बुटवल । रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल ९बलु० को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

पटकपटक धम्की खेप्दै आएका थिए वसन्तले स्थानीय एमाले नेताहरूका अनुसार वसन्तलाई मनोज पुनको नाममा पटकपटक धम्की आउने गरेको थियो । दुर्गा तिवारीको हत्यालगत्तै अब तेरो पालो हो भन्ने धम्की वसन्तले पाएका थिए । पटकपटक धम्की आएको कुरा प्रहरी प्रशासनलाई पनि थाहा रहेको स्थानीयको भनाइ छ । पटकपटक धम्की खेप्दै आएका वसन्तले पछिल्लोपटक मोबाइल नम्बर नै परिवर्तन गरेका थिए ।

यसरी भयो गोली प्रहार शुक्रबार बिहान करिब ११ बजे वसन्त र उनकी पत्नी ढेकारस्थित सःमिलको कम्पाउन्डभित्र आगो तापेर बसेका थिए । त्यही वेला मोटरसाइकलमा दुईजना आए । इप्रका बुटवलका डिएसपी पवन भट्टराईका अनुसार सुरुमा उनीहरूले आफूलाई काठ चाहिएको बताएका थिए । लगत्तै एकजनाले पौडेलमाथि गोली प्रहार गरे । छातीमा गोली लागेका उनी त्यहीँ ढले । गोली हानेपछि उनीहरू मोटरसाइकलमै फरार भएका छन् । पौडेललाई तत्काल उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया