–चन्द्रकला भण्डारी काँकडभिट्टा, २१ पुस – मुलुकले समृद्धिका रंगीन सपना बुनिरहँदा झापाको मेचीनगर–५ स्थित टोकला चिया बगानमा भने शौचालय अभावमा श्रमिकहरुले दिसापिसाब गर्न नजिकैको चिया बगानभित्र लुक्नुपर्ने सकसबाट अझै मुक्ति पाएका छैनन् ।

नेपाल चिया विकास निगमअन्तर्गतको टोकला चिया बगानमा कार्यरत ५ सयमध्ये ३ सय मजदूर बगानकै आवासमा बसोबास गर्छन् । तर आधाजसो चिया श्रमिकको आवासमा शौचालय छैन । विसं २०५७ देखि निजी व्यापारिक घराना साङ्घाइको ‘त्रिवेणी ग्रुप’ ले लिजमा लिएको सो बगानमा श्रमिकहरुका लागि शौचालयको माग पटकपटक उठे पनि बगान व्यवस्थापन पक्षले यसमा चासो नदेखाएको श्रमिकहरुको भनाइ छ । “हामीले त पीडा खपेकै थियौं, पाहुनालाई चर्पी गर्न बगानतिर जानु भन्नु पर्दा हामीलाई सबैभन्दा बढी लज्जा हुन्छ,” बगानको आवासमा बस्दै आएकी श्रमिक अमृता दर्जी भन्छिन् – “खान त बनिबुतो गर्दा पनि हुँदोरहेछ, तर दिसा बस्ने ठाउँ नहुँदाको पीडा साहै्र गाह्रो भो ।” मेचीनगरकी अमृता विगत ३० वर्षयता टोकला बगानकै आवासमा बसेर मजदूरी गर्दै आएकी छिन् । उनको उमेर ५४ वर्ष भइसक्यो । उनको जिन्दगी पनि चियाका पोथ्राबीच दिसा गर्दैमा बितिरहेको छ । सोही बगानकी मजदूर मान्ती उराऊ उमेरले ७० नाघिसकेकी र रोगी छिन् । वृद्धावस्थाका कारण घर वरिपरिभन्दा टाढा जान सक्ने अवस्था छैन । घरमा चर्पी नभएकाले दिसा लाग्दा उनी नातिनातिनाको सहयोग लिएर लोटामा पानी बोकेर बगान पुग्छिन् । बिहान बेलुका अरुको सहयोगमा बगानसम्म पुग्ने उनी बिरामी पर्दा र रातको समयमा भने घरको आँगनमा नै दिसा गर्ने गरेको बताउँछिन् । मान्ती विगत चार दशकभन्दा अघिदेखि त्यही बगानमा मजदूरी गर्दै आएकी छिन् । उमेरका कारण विश्राम लिएकी उनका छोरा बुहारी अहिले पनि मजदूरी गर्छन् । “एकातिर बूढेसकाल अर्कोतिर बिरामी,” उनले चर्पी नहुँदाको पीडा सुनाउँदै भनिन् – “यस्तो अवस्थामा खाएर फ्याँक्ने ठाउँ नहुँदाको पीडा कतिलाई सुनाउनु, मालिकलाई भन्यो आफैं बनाऊ भन्छन् ।” राज्यको लक्ष्य सरकारी बगानबाटै उल्लंघन सरसफाइ गुरुयोजना २०६८ ले संघसंस्था, कार्यालय तथा निकायभित्रको सरसफाइको जिम्मेवारी सम्बन्धित संस्था एवम् प्रतिष्ठानलाई नै दिएका छ । संघसंस्थाहरुभित्र प्रयोगकर्तामैत्री शौचालयको व्यवस्था हुनुपर्ने सरसफाइ गुरुयोजनामा उल्लेख भए पनि टोकला चिया बगानले यसको ठाडो उल्लंघन गरिरहेको छ । टोकला चिया बगान ४९६ विघा १३ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको यो बगान त्रिवेणी गु्रपले ५० वर्षका लागि भाडामा लिए पनि उसले मजदूरका लागि शौचालय बनाएको छैन । बगानमा ५०० भन्दा बढी मजदूर रहेका छन् । तीन सयजना बगानकै निजी आवासमा बस्ने गरेको मजदूरका नाइके रविन्द्र दाहालले बताए । उनले आवासमा मात्र होइन, मजदूरलाई दिउँसो कार्यस्थलमा पनि समस्या हुने गरेको बताए । मजदुरहरुले पटकपटक बगानभित्र सार्वजनिक शौचालय निर्माणका लागि माग गरे पनि व्यवस्थापन पक्षले बेवास्ता गरेको मजदुर पक्षको गुनासो छ । जताततै बगानभित्र शौच गरिएकाले पत्ती टिप्ने र चियाका बोट गोडमेल गर्ने बेलामा मजदूरहरुले नै दुर्गन्ध र फोहरको सामना गर्दै आएका छन् । दिसा र फोहरका कारण मजदूर बिरामी

“दिसा पिसाब गर्ने र काम गर्ने ठाउँ एउटै हो,” मजदूरहरुका नाइके दाहाल भन्छन्–“उनीहरुका खुट्टामा आएका घाऊ खटिरा देख्दा दया लाग्छ । फोहरले गर्दा वर्षा याममा त हात खुट्टा नै पाक्छन् ।” बगान मजदूरको नियमित स्वास्थ्य जाँच गरिरहेका पूर्व जनस्वास्थ्य निरीक्षक हेमन्तराज दवाडी दिसाबाट उत्पन्न हुने जीवाणु धेरै खालका र मानव स्वास्थ्यका लागि घातक हुने बताउँछन् । उनले बगान मजदूरका छोराछोरीमा कुपोषण र झाडा पखालाको समस्या बढी हुने बताए । उनका अनुसार बगानभित्र काम गर्ने मजदूरमा छालाको रोग बढी देखिएको छ । “फोहरमैलाकै कारण बढी बिरामी बढेको हो,” स्वास्थ्यकर्मी दवाडी भन्छन् – “मजदूर बस्ने स्थानमा चर्पी बनाउन सके त्यो समस्या समाधान हुन्छ ।” चर्पी आफैं बनाऊ – बगान व्यवस्थापन टोकला बगानका प्रवन्धक राजु सिन्हाले मजदूरहरुको बस्ने ठाउँको व्यवस्था मात्र व्यवस्थापन पक्षले गर्दै आएको स्वीकारे । “हामीले बस्ने जग्गा उपलब्ध गराइदिएका छौं,” उनी भन्छन् – “चर्पी उनीहरुले आफैं बनाउनुपर्छ ।” उनले बगानमा दिउँसो काम गर्ने मजदूरका लागि सार्वजनिक शौचालय बनाउन सम्भव नहुने जिकीर गरे । उनी भन्छन् – “हामीले पहिला भारतको डुबर्सस्थित बगानमा काम गर्ने मजदूरका लागि केही शौचालय बनाइदिएका थियौं, तर सुरक्षा नै भएन ।” उनका अनुसार बगानभित्र बनाइएका शौचालय केही दिनमै भत्काइएको फेला परेको थियो । उनले त्रिवेणी ग्रुपले बगानमा शौचालय बनाउने योजना नै नबनाएको जानकारी दिँदै कुनै निकायले मजदूरका लागि बनाइदिन्छ भने वाधा नगरिने बताए ।

चर्पी बनाउन आफ्नो आर्थिक हैसियत नभएको मजदुरहरु बताउँछन् । मान्ती भन्छिन् – “ छोरा बुहारीको कमाइले खानै पुग्दैन, चर्पी बनाउने पैसा कहाँबाट ल्याउनु ?”

बगानकै ५४ वर्षीया विसुका उराउको पनि उस्तै छ पीडा । अडतीस वर्षदेखि मजदूरी गर्दै आएकी विसुकालाई चर्पी बारे सोध्दा बगानतिर देखाउँदै भनिन् –“ऊ त्यही हो हाम्रो चर्पी ।” चर्पीको माग गर्दा बगान व्यवस्थापनले आफैं बनाउन भनेको उनी बताउँछिन् । उनी बगान व्यवस्थापन पक्षसँग मात्र होइन राजनीतिक दलहरुसँग पनि आक्रोशित छिन् र भन्छिन् – “जब चुनाव आउँछ हामीलाई भोट देऊ, जितेपछि आएर सबैको चर्पी बनाइदिन्छौं भन्छन् । भोट पाएर गएपछि फर्केर आउँदैनन् ।” बगान व्यवस्थापन पक्षले बेवास्ता गरेको हुँदा राजनीतिक दलहरुलाई गुहार्दा समेत पार नलागेको बताउँछन् मजदूर नाइके दाहाल । बगान व्यवस्थापनलाई अनुरोध गर्छौं ः नगरपालिका मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीले मेचीनगर क्षेत्रमा रहेका बगान व्यवस्थापनसँग शौचालय निर्माणका लागि अनुरोध गर्ने बताइन् । “पहिले हामी अनुरोध गर्छौं, यदि बगान व्यवस्थापन पक्षले अटेर गरेमा नगरपालिकाकै तर्फबाट भए पनि सार्वजनिक शौचालय निर्माण गरिदिने योजनामा छौं” – उनले सुनाइन् । मेचीनगर नगरपालिकालाई ‘खुल्ला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने अन्तिम तयारी भएरहेको उपप्रमुख उप्रेती बताउँछिन् । दुहागढी र धाइजन घोषणा भइसकेको र चाँडै मेचीनगर–९ पनि घोषणाको तयारीमा रहेको जानकारी दिँदै उनले भनिन् – “हामी नगरका सबै क्षेत्र खुल्ला दिसामुक्त घोषणाको अन्तिम तयारीमा छौं ।” अरु ठाउँमा पनि छन् समस्या

समस्या टोकला चिया बगानको मात्र होइन, भद्रपुरमा रहेको बुधकरण टी स्टेट र अर्जुनधारा एवम् विर्तामोडमा रहेको गिरीवन्धु टी स्टेटको अवस्था पनि उस्तै हो । यी दुबै चिया बगानमा कार्यरत मजदूरका लागि शौचालय निर्माणमा सहयोग गर्न बगान व्यवस्थापनसँग छलफल भैरहेको बताउँछन् अर्जुनधारा नगरपालिकाका सरसफाइ फोकल पर्सन डेनजनी आचार्य । “नगर प्रमुखज्यूले नै बगान व्यवस्थापनसँग कुराकानी गर्नुभएको छ,” आचार्यले भने – “मजदूरका लागि कम्तीमा पनि सामुदायिक शौचालयको व्यवस्था गर्ने सहमति भएको छ ।” बुधकरण टी स्टेटमा समेत मजदूरका लागि संयुक्त शौचालयको निर्माण गर्ने बारेमा छलफल भइरहेको बताउँछन् भद्रपुर नगरपालिका खुल्ला दिसामुक्त अभियानका कार्यक्रम अधिकृत एवम् अनुगमन समितिका सदस्यसचिव फणिन्द्र दाहाल । “बगान व्यवस्थापनसँग संयुक्त शौचालय निर्माण गर्ने कुरा भएको छ, यसलाई कार्यान्वयन गराएरै छोड्छौं”, दाहालले दृढता व्यक्त गर्नुभयो । नगर दिसामुक्त क्षेत्र घोषणाको तयारी भइरहँदा टोक्ला बगान मात्र होइन, सतिघट्टालगायत अन्य क्षेत्रमा काम गर्ने मजदूरको अवस्था उस्तै छ । नगरमा टोकला जस्तै करिव एक दर्जन चिया बगान छन् । सबै बगानमा शौचालयको अभाव छ । मेचीनगरमा २५ हजार ७ सय ६३ घरधुरी रहेका छन् भने २३ हजार १ सय ८४ घरधुरीमा मात्र शौचालय रहेका छन् । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको तथ्याँक अनुसार २ हजार ५ सय ७९ घर परिवारमा शौचालय निर्माण गर्न बाँकी छ । तथ्याँकगत रुपमा हेर्ने हो भने मेचीनगर नगरपालिका क्षेत्रमा ८९.९९ प्रतिशत घरधुरीमा मात्र शौचालय रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया