काठमाडौं, २१ पुस । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछिल्लो समय एकताको विषयमा अलमलमा देखिन थालेका छन् ।

सरकार र पार्टी नेतृत्व, नेताहरूको व्यवस्थान, दुई संवैधानिक निकाय राष्ट्रपति र सभामुखको बाँडफाँट तथा विचार र सिद्धान्तलगायतका विषय कसरी हल गर्ने भन्नेमा शीर्ष नेतृत्वले खाका बनाउन नसक्दा नेताहरू अलमलमा परेपछि पार्टी एकता संयोजन समितिको बैठक अनिश्चित बनेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्र्ने विषयमा गृहकार्य भइरहेको बताउँछन् । पदीय बाँडफाँटको आधारमा एकता प्रक्रिया प्रभावित नहुने जिकिरसमेत उनले गरे । तर माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एमाले ठूलो दल भएपछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा रोज्नुपर्ने र अर्को आफूहरूले पाउनुपर्ने बताउँछन् ।

दुई पार्टीभित्र सरकारको नेतृत्व र पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय भने सतहमा नै विवादमा आएको छ । माओवादी केन्द्रको मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले एमालेले सरकार र पार्टी अध्यक्षमध्ये एक पद रोजेर लैजानुपर्ने र दोस्रो आफूलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो । एमाले कतिपय नेताहरू भने ठूलो दल आफू रहेको भन्दै अध्यक्ष सहजै दिने पक्षमा देखिएका छैनन् ।

सरकार र पार्टी नेतृत्वसँगै अन्य नेताहरूको व्यवस्थापनको विषय पनि एकताको खाका बनाउन समस्यका रुपमा उत्पन्न भएको छ । एमालेबाट पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र झलनाथ खनाललाई कसरी व्यवस्थापन गर्ने भन्ने अलमल छ । नेपाल सक्रिय राजनीति गर्ने तयारीमा देखिएका छन् भने खनालले राष्ट्रपतिका लागि चासो देखाएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एकता प्रक्रिया लम्ब्याउन नहुने भन्दै अहिले एकताका खाका बनाएर घोषणा गर्नुपर्ने र बाँकी सबै मिलाउँदै जानुपर्ने विकल्प प्रस्तुत गर्छन् ।

एमाले नेताहरू प्रधानमन्त्री, राष्ट्रपति र सभामुख आफूले पाउनुपर्ने अडानमा छन् तर माओवादी केन्द्रले दुई संवैधानिक निकाय समेत आधा आधा बाँडफाँड गर्नुपर्ने तर्क गर्छन् । सरकारको नेतृत्व र पार्टी अध्यक्ष अलग अलग दलले गर्नुपर्दछ, दुई संवैधानिक निकाय समेत एउटै दलको भागमा हुनुहुन्न’ नेता देवेन्द्र पौडेलले भने ।

दुई पार्टीबिच आगामी विचार र सिद्धान्त कुन मानेर जाने भन्नेमा समेत अलमल देखिएका छन् । एमालेले जनताको बहुदलिय जनवाद ९जबज० लाई मान्दै आएको छ, माओवादी केन्द्रले भने २१ औं शताब्दीको नौलो जनवादलाई मार्ग दर्शक सिद्धान्त मान्दै आएको छ । दुवै विचार सिद्धान्तलाई जोडेर तेस्रो धारको विचार निर्माण गर्नेमा दुई दल देखिए पनि कस्तो विचार र सिद्धान्त उत्पादन गर्ने भन्नेमा भने दुई दल टुंगोमा पुग्न सकेका छैनन् । पार्टी एकता गरेर अघि बढ्नेमा दुवै दलका शिर्ष नेताहरूले प्रतिवद्ध रहेको जनाउँदै आएपनि आवश्यक सक्रियता भने देखाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया