तुलसीपुर, दाङ, २० पुस – परापूर्वकालदेखि गाउँगाउँमा पुगी सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्वको पुख्र्यौली पेशा संकटमा परेको छ ।

बढ्दो आधुनिक गीतसंगीत एवं प्रविधिको विकासका साथै गाउँ समाजले पनि हेयको दृष्टिकोणले हेर्ने गरेका कारण आफूहरु अहिले यो पेशा छाडेर अरु पेशा अंगाल्न बाध्य भएको उनीहरु बताउँछन् ।

“पहिलेका जमिनले प्रशस्त अन्न दिन्थे । त्यसैबाट परिवार पाल्न सजिलो हुन्थ्यो तर अहिले सारंगी बोकेर गाउँ हिँड्दा धेरैले अपशब्द प्रयोग गर्छन् । अल्छी भनेर गाली गर्छन् । त्यो जवाफले त शरम पनि लाग्छ”, तुलसीपुर उपमहानगरपालिका–४ गणेश टोलका ४५ वर्षीय गणेश गन्धर्व गुनासो गर्छन् ।

बीस वर्ष पहिलेदेखि जिल्लाका विभिन्न ग्रामीण क्षेत्र एवं तुलसीपुर, घोराही र लमहीका बजार क्षेत्रमा गीत गाउँदै गणेश राज्यले पनि आफूजस्ता वर्गलाई राहतका कुनै कार्यक्रम नदिँदा गाउने पेशाबाट खानलाउन नपुग्ने अवस्था आएको बताउँछन् ।

तीसदेखि ३५ घरधुरी रहेको गणेश टोलमा करिब ४०० गन्धर्व बसोबास गर्छन् । अहिले १२ देखि १५ परिवारले मात्र यो पेशा अंँगालेका छन् । उनीहरु कुनै काम नपाएको बेलामा मात्र गाउँदै हिँड्छन् ।

अहिलेका पुस्ताले गायन पेशाप्रति देखाएको उदासीनताले आफ्नो जातिको अस्तित्व नै हराउन सक्ने चिन्ता गणेश टोलका ५५ वर्षीय खुनी गन्र्धवलाई छ । गन्धर्वको युवापुस्तालाई पुख्र्याैली पेशाबाट आर्थिक रुपमा सक्षम बनाएमा मात्र संस्कृति र जातीय पहिचानलाई जोगाउन सकिने उनको भनाइ छ ।

आफ्ना पुर्खा सल्यानको हिउल्चाबाट दाङमा आएको बताउने सोही टोलका ४० वर्षीय मनोज गन्र्धव हातमुख जोर्न मुश्किल भएपछि पलायन भएका गन्धर्व हाल तुलसीपुर, पातेटाकुरा, एकलीलगायत स्थानमा बसोबास गरेको बताउँछन् । अहिले उनीहरुले पुरानो पेशा छाडेर ज्यालादारी, मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

मनोजले पहिले माना, मुठी अन्न बटुल्ने क्रममा दाङ, सल्यान, रुकुम, रोल्पालगायत स्थानमा पुग्ने गरेको भए पनि हाल सो पेशाबाट घरपरिवार पाल्न नसकिने भएपछि तुलसीपुरमा मजदुरी पेशा अँंगालेर परिवार पाल्ने गरेको बताए ।

हातमुख जोर्न अप्ठेरो परेका गणेश, खुनी र मनोज गन्धर्व मात्र होइन, जिल्लाका संस्कृतिविद्ले पनि गन्धर्व जातिसँग जोडिएर आएका संस्कृतिको एक सुन्दर पक्ष लोप हुन लागेकामा चिन्ता व्यक्त गरेका छन् । सल्यान हिउल्चा घर भएका महेन्द्र गन्धर्व भन्छन्, “गाइनेले आजभोलि गायकगायिकाले गाएका गीत मात्र गाउने र आफूले खास मेहनत नगरेका कारण गीतिशैली हराइसकेको छ ।” पहिला पहिला सल्यानको हिउल्चामा ४५ देखि ५० घर परिवार रहेका गन्धर्वमध्ये अहिले धेरैले पेशा छाडेर पलायन भइसकेका छन् ।

महेन्द्र भन्छन्, “कुनै घटनाको कथावस्तुलाई गीत बनाएर गाइने कर्खा भाका अहिले सबैलाई गाउन आउँदैन । नयाँ गायकको नक्कलले लोकप्रिय कर्खा हराउन लागिसक्यो ।” गन्धर्वको उत्थानमा कसैले पनि ठोस प्रयास नगरेकाले गन्र्धवसँगै नेपाली संस्कृतिको एउटा अध्याय मेटिन थालेको यहाँका संस्कृतिविद् बताउँछन् । उनीहरु भन्छन्, “समाजमा भएका विकृतिजन्य अपराधलाई सारंगीको मीठो धुन अनि सुरिलो भाकामा साधारण मानिससम्म सन्देश छरी चेतना वृद्धि गर्ने गन्धर्वको पेशा संरक्षण गर्न सबैले पहल गर्नुपर्छ ।”

संस्कृतिविद् डा गोविन्द आचार्य भन्छन्, “गन्धर्वको गीतसंगीतलाई बचाउन रेकर्डिङको सुरक्षित व्यवस्था र सम्मानपूर्वक बाँच्ने व्यवस्था तथा उनीहरुलाई राहत दिलाउने कार्यक्रम राज्यले दिनुपर्छ । त्यसका लागि गन्धर्व स्वयं पनि क्रियाशील बन्नुपर्छ ।”

तपाईको प्रतिक्रिया