बैतडी, १९ पुस – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भूमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवा जुटेका छन् ।

रोजगारीको सिलसिलामा देश बाहिर रहेका यहाँका युवाले पत्ताल भूमेश्वरको विकास र संवद्र्धनका लागि सामाजिक सञ्जाल (फेसबुक)मार्फत रु दुई लाखभन्दा बढी रकम संकलन गरेका छन् ।

सुर्नया गाउँपालिका–२ मा रहेको नेपालकैै गहिरो पत्ताल भूमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रसारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले ‘पत्ताल भूमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान’मार्फत उक्त रकम संकलन गरेका हुन् ।

उक्त अभियानका सहकोषाध्यक्ष वीरबहादुर विष्टका अनुसार हालसम्म रु दुई लाख दुई हजार संकलन भएको छ । उक्त संकलित रकमले पत्ताल भूमेश्वरको प्रवेशद्वारमा मूलगेट र अन्य विकासका लागि खर्च गरिनेछ । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि फेसबुक, सामाजिक सञ्जाल तथा अनलाइन अभियानमा सहयोग गर्न सबैमा अनुरोधसमेत गरेको छ ।

“पत्ताल भूमेश्वर क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटकीय हव बनाउन हामी जुटेका छौँ,” उहाँले भन्नुभयो । पर्यटकीयस्थलको सम्बन्धित निकायले संरक्षण, विकास, प्रवद्र्धन र प्रचारप्रसार गर्न स्थानीय तह तथा सम्बन्धित निकायले पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् ।

तपाईको प्रतिक्रिया