विलिङटन/एजेन्सी– न्युजिल्यान्डमा एउटा समूहले नयाँ वर्षमा मदिरा सेवन गर्नका लागि ‘अन्तर्राष्ट्रिय जल क्षेत्र’ मा टापु निर्माण गरेर चर्चा र आश्चर्यमा पारेका छन् ।

सरकारले नयाँ वर्षमा सार्वजनिक स्थानमा मदिरा सेवन गर्न प्रतिबन्ध लगाएपछि सो समूहले नयाँ वर्षमा मदिरा पार्टी गर्नका लागि यस्तो उपाय निकालेका हुन् न्युजिल्याण्डको कोरोमण्डल प्रायद्वीपमा नयाँ वर्षका क्रममा सार्वजनिक स्थानमा मदिरा सेवनमा रोक लगाइएको थियो ।

सरकारी कारबाहीबाट बच्नका लागि सो समूहले स्वेच्छिक रुपमा मदिरा सेवन गर्नकै लागि आफ्नो छुट्टै टापुको निर्माण गरेका हुन् । आइतबार उनीहरुले ताइरुआ नदीमा पानीको बहाब हल्का भएको समयमा टापु उठाएर एक पिकनिक टेबल र मदिरा चिसो पार्ने कुलर लगाए । यसबाट नै उनीहरु ‘अन्तर्राष्ट्रिय पानी’ क्षेत्रमा पुगे, जहाँ कोरोमण्डलको सो नियम लागु हुँदैन थियो ।राजधानी दैनिकमा खबर छ ।

त्यो समूहले पूरै रात आफ्नो टापुमा मदिरा पिएर बिताए र आतिशवाजी हेर्दै नयाँ वर्षलाई स्वागत गरे । यिनीहरुको यो मिनी टापु सोमबारसम्म रह्यो । रक्सीमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेमा १ सय ८० डलर जरिवानाको प्रावधान रहेको थियो, तर कोरोमण्डलको प्रशासनले यो घटनालाई मजाकको रुपमा लिएको छ ।

स्थानीय प्रहरी कमाण्डर इन्स्पेक्टर जोन केलीले भने, ‘यो एक रचनात्मक सोच थियो ।’ फेसबुकको एक स्थानीय समूह ताइरुआ चिटच्याटमा टापुको फोटो राखेका डेभिठ सेन्डर्सले भने, ‘न्युजिल्याण्डका केही मानिसहरुले मजा गरेको देख्दा राम्रो लाग्यो ।’

तपाईको प्रतिक्रिया