ललितपुर, १९ पुस । जस्ताले बेरबार बनाएको छाप्रोको अघिल्तिर थोत्रो सुकुलमा घाम तापिरहेकी थिइन् ६५ वर्षीया टरमैयाँ महर्जन । छेउमा थिए, ७५ बर्से पति माइलाकाजी । माइलाकाजी पत्नीको साथ एकैछिन पनि छाड्दैनन् किनकि ०७२ सालको भूकम्पपछि टरमैयाँको होस राम्ररी खुलेको छैन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

त्यही बेलादेखि उनी पक्षघातले थलिएकी छन् । ‘उनी न बोल्न सक्छिन् न त हिँडडुल गर्नै ! त्यसैले एकछिन पनि छाड्दिनँ’, पत्नीको छेउमा बसिरहेका माइलाकाजीले भने ।

खोकनाको सार्वजनिक चौरमा निर्मित टहरामा बस्दै आएका तीन सय भूकम्पपीडितमध्ये हो यो वृद्ध जोडी । पुसको ठण्डीमा यसरी कहर काटिरहेका यस्ता धेरै वृद्धवृद्धा छन् यहाँ । भूकम्पले भग्नावशेष बनेका घर पन्छाउन आर्थिक अभाव भएकाले यो दम्पती अहिलेसम्म टहरामै दिन काट्न विवश छ । घर बनाउन लालपुर्जाको पनि समस्या रहेको उनीहरू बताउँछन् ।

खोकना माझटोल बस्ने ७६ बर्से मानभक्त महर्जन पनि यस्तै पीडित हुन् । परिवारका एक्ला सदस्य । डेढ आना जग्गामा बनेको उनको घर भत्किएपछि टहरामा बसिरहेका छन् । दमले थलिएका उनले राहतको पहिलो किस्तास्वरूप पाएको ५० हजार रुपैयाँ दमको औषधि किनेरै सकिन लागेको बताए । उनले भने, ‘जाडोमा हामीजस्ता रोगीलाई छाप्रोमा बस्न धेरै गाह्रो छ, आफ्नै घरमा सर्न पाए हुन्थ्यो ।’

दमपीडित ८४ वर्षीया धनकुमारी महर्जन पनि टहरोमै रात काटिरहेकी छन् । ‘जति रात छिप्पिन्छ, स्वाँ स्वाँ झन् बढ्छ’, उनले भनिन्, ‘दमका बिरामीलाई चिसोमा रात काट्न सास्ती छ ।’ ४५ वर्षअघि पति गुमाएकी उनको बास दुई वर्षदेखि टहरामै छ । ‘मर्नुअघि आफ्नै घरमा सर्न पाए हुन्थ्यो’, उनी भन्छिन् । एक आना जग्गामा बनेको घरको माटो अझै पन्छाउन नसकेको बताउँछिन् उनी । नेवारी परम्पराअनुसार तेस्रोपल्ट ‘जंकु’ गर्ने बेला भइसकेको छ तर टहरामा ‘जंकु’ गर्न उनलाई मन छैन ।

टहरोमा बस्दै आएका स्थानीयले भूकम्पका भग्नावशेष पन्छाइदिन पटक-पटक वडा कार्यालयमा आग्रह गरे पनि अहिलेसम्म २०÷२२ घरबाहेक बाँकीको हटाइएको छैन । एउटै घरको माटो पन्छाउन २५ सयदेखि ५ हजार रुपैयाँसम्म लाग्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया