पोखरा, २८ चैत-
‘पानी रोटी’को नाम शहरमा कमै सुनिन्छ । गाऊँ घर तिर दालमा ‘पानी रोटी’ पकाउने चलन छ । यो नितान्त नेपाली शैलीको रोटी हो । अहिलेसम्म यो रोटीलाई व्यवसायिक रुपमा बजारमा ल्याईएको थिएन । यद्यपी यहाँको एउटा बेकरी क्याफेले ‘पानी रोटी’लाई व्यवावसायिक रुपमा बजारमा ल्याएको छ ।

पोखराको हेल्दी टिफिन बेकरी क्याफेले ‘पानी रोटी’लाई फरक स्वरुप दिएर बेचविखन शुरु गरेको हो । बगर, न्यूरोड र पृथ्वीचोकमा शाखा रहेको यो क्याफेले तीनवटै स्थानबाट पानी रोटी बेच्न थालेको हो ।

“नेपाली परम्परा अनुसार पानी रोटी चलन चल्ती कै परिकार हो, तर यसलाई केहि परिमार्जित गर्दै नेपाल मै पहिलो पटक रेष्टुरेन्टमा ल्याउने काम हामीले गरेका हौँ” हेल्दी टिफिन बेकरीका संचालक दुर्गाप्रसाद आचार्यले बताए । चिकेन, मटन, भेजिटेबल लगायत चार प्रकारका स्वादमा ‘पानी रोटी’ पाईन्छ ।

लामो समय विदेशमा रहेर तारे होटलमा सेफको काम गरेर नेपाल फर्किएका आचार्यले नेपाल फर्किएर व्यावसाय थालेका हुन् । ‘विदेशीलाई आकर्षित गर्नका लागि हामीले नेपालकै खानालाई प्रमोट गर्न जरुरी छ ।’ उनले भने–‘त्यसैको पहिलो प्रयास स्वरुप पानी रोटीलाई हामीले लञ्च गरेका हौँ ।’

हेल्दी टिफिन बेकरीले विभिन्न बेकरी आईटमको उत्पादन र बजारिकरण समेत गर्दै आएको छ ।

Comments