सिन्धुली , २० वैशाख । सिन्धुली शीतलपाटीका किशोरकिशोरी निर्धक्क यौनका कुरा गर्न लजाउँदैनन् ।शीतलपाटी स्वास्थ्य चौकीमा किशोरकिशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालिएपछि माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत किशोरकिशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन् ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा र राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपिए० को सहकार्यमा शीतलपाटी स्वास्थ्य चौकीमा विद्यालयको दिउँसोको खाजा समयमा एक घण्टे प्रजनन् स्वास्थ्यसम्बन्धी परामर्श सेवा थालिएपछि यहाँका किशोरकिशोरीमा परिवर्तन देखिएको। हो ।

आइतबारदेखि बिहीबारसम्म दिउँसो १।०० देखि २।०० बजेसम्म किशोरकिशोरीलाई छुट्टै कक्षमा राखी यौन तथा प्रजनन् शिक्षा दिइन्छ । शुक्रबार भने ती विद्यार्थीका लागि विशेष कार्यक्रम गरिने जिल्लामा युएनएफपिएको कार्यक्रम संयोजन गरिरहनुभएका संजय शर्मा बताउनुहुन्छ ।
स्वास्थ्य महाशाखाले युएनएफपिएसँगको सहकार्यमा सिन्धुली, प्यूठान, अछाम, बझाङ र सुनसरीमा केन्द्र नै खोलेर यो कार्यक्रम सुरु गरेको छ ।“विविध कारण यौन र प्रजनन्का समस्या अभिव्यक्त गर्न नसकेकालाई प्रोत्साहित गर्न छुट्टै कोठा, चर्पी र विद्यालय नजिकको स्वास्थ्य चौकीलाई छानेर केन्द्र स्थापना गरी कार्यक्रम चलाइएको हो” – उहाँले भन्नुभयो ।
युएनएफपिएले विसं २०६८ ९सन् २०१२० मा जिल्लाका छ गाविसमा किशोरकिशोरी मैत्री कार्यक्रम थाल्यो । कार्यक्रम विस्तार गर्ने क्रममा युएनएफपिएको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले १८ गाविसका स्वास्थ्य संस्थामा कार्यक्रम लागू गरेको छ । केही गाविस थपिने क्रममा छ ।
जिल्लाका शीतलपाटी, बासेश्वर, भुवनेश्वरी, प्वाङस्वाङ, बेलघारी, सिरथौली, कपिलाकोटलगायत गाविसमा सो कार्यक्रमले किशोरकिशोरीमा सकारात्मक परिवर्तन ल्याएको छ । कार्यक्रमको सुरुमा चुनौती नआएका भने होइन ।
रानीटारकी बिनीता कोइराला सुरुवाती दिनमा किशोरकिशोरीमैत्री कार्यक्रममा सहभागी हुँदा आमाले छोरी बिग्रिई भनेर गुनासो गरेको सम्झनुहुन्छ । विषय अश्लील जस्तो लागे पनि कार्यक्रमले बिनीतामा सकारात्मक प्रभाव परेपछि आमा खुसी हुनुहुन्छ ।
“सुरुमा मलाई गाली गर्ने आमा कार्यक्रमको सकारात्मक प्रभावबाट प्रभावित भएर आफैं कार्यक्रममा सहभागी हुन थाल्नुभएको छ,” बिनीताले भन्नुभयो – “कार्यक्रममा सहभागी युवा विकृतिमा लाग्लान् भनेर डराएका अभिभावकलाई नै कार्यक्रममा सहभागी किशोरकिशोरीले कुलतबाट छुटाएका उदाहरण हाम्रो गाउँमा छ ।”
कार्यक्रममा सहभागी युवाको पहलमा जिल्लामा बाल विवाह रोकिएको छ । विद्यालय छोडेर कुलततिर उन्मुख बालबालिका पनि फेरि विद्यालय फर्र्किन थालेका छन् । किशोर वयमा हुने शारीरिक परिवर्तन र यौनका कुरा लुकाएर होइन जानकारी गराएर गलत बाटोबाट सही मार्गमा हिँडाउन सकिन्छ भन्ने तथ्य प्रमाणित भएको युवा सञ्जाल सिन्धुलीका अभियन्ता जनक विक बताउनुहुन्छ ।
जनचेतना जगाउने अभियानमा संलग्न युवालाई सङ्गठित गरेर जिल्लाका ४१ गाविसमा युवा सञ्जाल बनाइएको छ । सञ्जालले किशोरकिशोरीमा उमेर परिवर्तनका समयमा देखापर्ने समस्या समाधान गर्नेदेखि भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोपका समयमा पीडितलाई राहत वितरणको काममा समेत सहयोग गर्दैआएको छ ।
स्वास्थ्य चौकीमा किशोर भन्दा धेरै किशोरी कार्यक्रममा सहभागी भएको अभिलेख छ । देशभर लागू ‘ किशोरकिशोरीमैत्री स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने संस्था मध्येमा शीतलपाटीले सबैभन्दा बढी अङ्क पाएर उत्कृष्ट बनेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
स्वास्थ्य चौकी शीतलपाटीकी अहेव सङ्गीता सिन्हा ९मण्डल० अधिकांश किशोरकिशोरी एचआइभी एड्स र तल्लो पाठेघर दुख्ने समस्या लिएर आउने गरेको सुनाउनुहुन्छ ।
सुरुमा किशोरकिशोरी कक्षामा समस्या राख्न लजाउने अहिले निर्धक्क आफ्ना समस्या राख्न हिच्किच्याउँदैनन् । यसले उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ । उहाँले भन्नुभयो – “पहिले पहिलोपटक महिनावारी हुँदा किशोरीमा त्रास अनुभव हुन्थ्यो । अहिले त्यो उमेरका किशोरीमा युवा मैत्री कक्षको शिक्षाको प्रभावले त्रासको समस्या हटेको छ ।”
दीर्घप्रदीप उच्च माध्यमिक विद्यालय शीतलपाटी–९ खाल्टेमा कक्षा १० मा अध्ययनरत १४ वर्षीय किशोरी यमुना श्रेष्ठ कक्षा ६ देखिकै किशोरकिशोरी निर्धक्क आफ्ना समस्या लिएर स्वास्थ्य चौकीको युवा मैत्री कक्षमा जाने गरेको बताउनुहुन्छ ।
“अधिकांश किशोरीको समस्या महिनावारी, तल्लो पेट दुख्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने लगायतका हुने गर्छ, युवा मैत्री स्वास्थ्य संस्थाको कक्षमा गई परामर्श लिएपछि किशोरीमा खुसीसाथ जीवनयापन गर्ने शक्ति आएको अनुभव गरेकी छु” – उहाँले भन्नुभयो ।
किशोरकिशोरीमैत्री कार्यक्रममा सहभागी भएका युवायुवतीले किशोर अवस्था पार गरेपछि मैत्री केन्द्रमा गएर पछिल्लो पुस्ताकालाई तालिम दिने क्रम समेत सिन्धुलीबाट सुरु भएको छ । बासेश्वर गाविसका मनिष कोइराला र त्रिशुल कोइराला अहिले आफू भन्दा पछिल्लो पुस्ताका किशोरकिशारीलाई आफ्ना अनुभव सुनाइरहनुभएको छ ।
“स्वास्थ्यकर्मीसँग भन्दा उमेर समूह मिल्नेसँग किशोरकिशोरी बढी खुल्ने भएकाले हामीले एक आपसमा धेरै कुरा छलफल गर्न पाएका छौँ, भाइबहिनीलाई सही मार्ग डो¥याउन पाएको अनुभूति हुन्छ र गौरव पनि लाग्छ”– मनिष कोइरालाले भन्नुभयो ।
देशभर ७२ जिल्लाका एक हजार १३४ स्वास्थ्य संस्थामा भने किशोरकिशोरीमैत्री सेवा सुरु भएको युएनएफपिएका पैरवी एवम् सञ्चार अधिकृत सन्तोष क्षेत्रीले जानकारी दिनुभयो ।

Comments