काठमाडौँ, १२ वैशाख । सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तर्राष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक एवम् आर्थिक सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो आवको वैदेशिक सहायता प्रतिवेदन सार्वजनिक गर्दै वैदेशिक सहायताको सदुपयोग गर्न तथा त्यसलाई अझ व्यवस्थित एवम् उपयोगी तुल्याउन सरकार दृढ रहेको बताउनुभयो । वैदेशिक सहयोगको पारदर्शिता तथा प्रभावकारिताका निम्ति प्रस्तुत प्रतिवेदन सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिवेदनमा विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुपक्षीय संस्था तथा भारत, चीन, अमेरिका, संयुक्त अधिराज्य लगायत द्विपक्षीय मुलुक र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट अघिल्लो आवमा प्राप्त नगद, जिन्सी तथा प्राविधिक सहायतासम्बन्धी विवरण समेटिएको छ ।

Comments