काठमाडौं, १२ बैशाख
न्युयोर्क ज्याक्सन हाइटको ‘बेसमेन्ट’ स्थित ट्राभल एजेन्सीको कार्यालयमा सधैंझैं विष्णुमान प्रधान सहज र सरल देखिन्थे । कुराकानीको विषय प्रस्टाएपछि उनले भित्रबाट ढोकाको चुकुल लगाए ।

‘आँखामा आँसु नै रित्तिइसक्यो । सपनाजस्तै लाग्छ, कहिलकाहीं । खै के भनौं,’ कुराकानीको सुरुमै उनको गला रोकियो । एकहोरो अगाडिको टेबलमा रहेको काँचको सिसामा उनले हेरिरहे । मलिन स्वरमा थपे, ‘आफूलाई सम्हाल्दै छु, अरुलाई सम्झाउँदै छु ।’

वैशाख १२ को महाभूकम्पको महावज्रपात बेहोर्नेमध्ये एक पात्र हुन् विष्णुमान । भागवत् सप्ताहको पहिलो दिनको साइत थियो ।

०७२ साल वैशाख १२ गते १२ बजे । साइत निकाल्नेको दाबी थियो, ‘यस्तो साइत धेरै वर्षमा कहिलेकाहीं जुर्छ ।’ आफन्तहरु घरमा आइसकेका थिए, बालबालिकाको उल्लासपूर्ण चहलपहलले घर गुञ्जायमान थियो । चार तले सेतो घरको ‘ग्यारेज’ रहेको भुइँतलामा सप्ताह सुरु हुने तरखर हुँदै थियो ।

साइतमै देउता पदस्थापना गर्न तीन मिनेट बाँकी रहेको बेला ११ बजेर ५७ मिनेटको महाप्रलयले शोभा भगवती–१५ स्थित उनको घर गल्र्याम्मै ढल्यो ।

विष्णुमानकी आमा चन्द्रवदन प्रधान ६२, दिदी हेमलता ४३, दाई सुन्दरमान ४० सहित परिवारका १६ सदस्य एकै ठाउँमा दिवंगत भए । चारपुस्ते आफन्तहरु पुरिए । मावलीतिरका हजुरबा र हजुरआमादेखि चार वर्षकी भान्जीको प्राण उड्यो ।

उनका तीनजना सानीआमा, काका, बहिनी, बहिनीका सासु र नन्द एवम् विष्णुमानकी भाउजुकी भाउजु, उनका तीनवर्षे छोरा र भाउजुकी भाइबुहारीको इहलिला समाप्त भयो । घटनामा पुजारीको श्रीमतीको समेत निधन भयो ।

‘परिवार उजाडियो, सिसाझैं चकनाचुर भयो,’ केही सम्हालिँदै उनले भने, ‘एउटा मान्छेको जीवनमा सम्भवतः यसभन्दा अर्को दुखान्त के हुन सक्छ र ?’ त्यो दिनमा केवल जोगिए त उनका ६९ वर्षीय पिता, भाउजु एवम् आठ र एघार वर्षीया भतिजीहरु । आजको कान्तिपुर दैनिकमा तस्विर तथा समाचार छ ।

Comments