पोखरा, ३ असोज-
साहित्यकार भीम रानाभाट ‘ज्यालादारी’को हाइकु सञ्चयन ‘आँसुको छाल’ बजारमा आएको छ।
सुनाखरी साहित्यिक पत्रिकाले प्रकाशन गरेको सञ्चयनको अग्रज मानवअधिकारवादी नेता टेकनाथ बरालले लोकार्पण गरे। कृतिमा एक सय ९५ हाइकु छन्।

बरालले मानव जीवनमा सांस्कृतिक रुपान्तरण र अग्रगमनका लागि सर्जकहरुको अहमं भूमिका हुने उल्लेख गरे। उनले ज्यालादारीले आफ्ना सिर्जनामार्फत् यस्तै भूमिका निर्वाह गरिरहेको बताए। समीक्षक असफल गौतमले कृतिमा विषयगत विविधता रहेको उल्लेख गर्दै हाइकुका संरचनागत मान्यतालाई अझै मिहिन रुपमा अवलम्बन गर्न सकिने ठाउँहरु रहेको बताए।

कृतिकार ज्यालादारीले आफूले देखेको समय र भोगेको यथार्थलाई हाइकुमा उतार्ने कोशिष गरेको बताए। अर्का समीक्षक शैलज पौडेलले ज्यालादारीले आफ्नो कृतिमा आफूले बाँचेको समय, आफ्नो विचार र आफूले अंगालेको दर्शनलाई प्रभावकारी रुपमा प्रयोग गरेको विचार राखे।

सुनाखरी साहित्यिक पत्रिकाका सम्पादक फडिन्द्र अकिञ्चनले पोखरामा हाइकुको प्रकाशन कमैमात्र भइरहेको अवस्थामा आएको हाइकु सञ्चयनले यसको क्षेत्रमा नयाँ आयाम थप्ने बताए। कार्यक्रममा कृषि विकास वैंकका शाखा प्रवन्धक रामचन्द्र आचार्य, प्राडा रविलाल अधिकारी, भाष्कर, श्रीकान्त खतिवडालगायतले बोलेका थिए।

सोही अवसरमा साहित्य शृङ्खलाको एक सय ८० औं नियमित रचनावाचनसमेत भएको थियो। साहित्य शृङ्खलाका संयोजक यादवराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र पौडेलले गरेका थिए।

Comments