बर्दियामा भारतलगायत विभिन्न देशबाट आएका ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत तथा अन्य मुलुकबाट ५१७ जना बर्दियामा भित्रिएको लगत सङ्कलनबाट खुलेको छ ।

फ्रान्सबाट कतार हुंँदै यही चैत ६ गते एयर अरेबियाबाट नेपाल आएकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती चढेको विमानमा आएका दुई जनासहित क्वारेन्टाइनमा राखिएको हो ।

सो विमानमा बर्दियाका दुई जना आएकामा खोजेर एक जनालाई खजुरा गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएकोे पुष्टि प्रहरीले गरेको छ । बाँके ठेगाना भए पनि बर्दिया बाँसगढीका अर्का व्यक्तिलाई भने बाँसगढी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

रोकथाममा केन्द्रित स्थानीय तह

विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिम आउन नदिन कैलालीका स्थानीय तह केन्द्रित भएका छन् ।

भाइरस भित्रीहालेमा त्यसले निम्त्याउन सक्ने खतरालाई ध्यान दिँदै स्थानीय पालिकाहरु उपलब्ध साधन स्रोतका आधारमा आफ्नो ढङ्गले रोकथाममा केन्द्रित भएका हुन् । यसबाहेक आम नागरिक, उद्योगी व्यापारी, होटल व्यवसायी, सामाजिक सङ्घसंस्था, राजनीतिक दलका स्थानीय समिति र तिनका भातृ संस्था पनि कोरोना रोकथाममा सहयोग पु¥याइरहेका छन् ।

कैलालीको दक्षिणी सीमा नजिकको भजनी नगरपालिकाले रोग रोकथामका लागि केही दिनदेखि बस्ती र टोलमा नियमितरूपमा माइकिङ गरेर सचेतना अभियान थालेको छ । “क्वारेन्टाइनमा बस्नुपर्नेबाहेक अहिलेसम्म कोही सङ्क्रमित फेला परेको अवस्था छैन, नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भन्नुभयो, “शङ्कास्पद बिरामी फेला परेमा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष तयारी हालतमा राखिएको छ ।”

विपद् व्यवस्थापन कोषको रकममार्फत यो रोगको रोकथाम र निगरानीका लागि चाहिने सबै सामग्रीको व्यवस्थापन गरिरहेको नगरप्रमुख चौधरीले बताउनुभयो । भजनीमा भारतबाट आएका पाँच जनालाई क्वारेन्टाइनमा राख्न लागिएको छ । कैलालीको पूर्वीक्षेत्रको टीकापुर नगरपालिकाले पनि रोगको रोकथामको पूर्वतयारीका लागि गर्नुपर्ने सबैखालको व्यवस्थापनमा केन्द्रित भइरहेको नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो ।

“आवश्यक ठाउँमा हेल्थ डेस्क सञ्चालन गरिएकामा टीकापुर अस्पताल र साथी अस्पतालमा गरी १५ श्ययाको आइसोलेसन कक्ष तयारी हालतमा राखेका छौँ”, नगरप्रमुख रावलले भन्नुभयो, “सङ्क्रमित बिरामी फेलापरेको हकमा तिनको उपचारमा खटिइजाने स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने गाउन, उपकरण र अन्य सामग्रीको अपर्याप्तता देखिएको छ, यसको व्यवस्थापन नेपाल सरकारले गर्ने भनेको छ ।”

टीकापुरमा व्यवस्था गरिएको क्वारेन्टाइनमा भारतबाट केही दिनअघि भित्रिएका २० नेपालीलाई राख्ने व्यवस्था गरिएको छ । प्रदेशको अस्थायी राजधानी शहर धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड कोरोना भित्रिन नदिनका लागि नगरपालिकाले साधन स्रोतले भ्याएसम्म सबै उपाय गरिरहेको बताउनुहुन्छ । “रोग फैलिन नदिन सचेतन फैलाउने र अन्य सबै उपाय अवलम्बन भइरहेको छ, वडले भन्नुभयो, बिहीबारदेखि आवश्यक ठाउँमा किटनाषक औषधि स्यानिटाइजर छर्किने काम थालिएको छ ।”

कार्यदल गठन

कैलालीको अत्तरिया नगरपालिकाले टास्क फोर्स गठन गरी रोगको रोकथाम, निगरानीका लागि जनचेतना अभिवृद्धिका साथै आवश्यक थप व्यवस्थानको काम गरिरहेको छ । क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थाका साथै आवश्यक ठाउँमा किटनाषक औषधि स्यानिटाइजर छर्किनेलगायतका काम भइरहेको कार्यालयका प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो । गाउँबस्तीको हकमा सडक छेउका फोहर नालीमा निमको पात पिँधेर बनेको पानी छर्किन थालिएको छ ।

रोग रोकथामका लागि नेपाल सरकारले मङ्गलबारदेखि आह्वान गरेको ‘लकडाउन’लाई जनताले स्वःस्पूmर्तरूपमा साथ दिइरहेका छन् । लकडाउनको तेस्रो दिनसम्म आइपुग्दा धनगढी बजार सुनसान छ । व्यापार व्यवसाय, उद्योगधन्दा सबै बन्द छन् । बजारमा गस्तीमा खटिएका सुरक्षाकर्मीका साथै बिरामी बोक्ने एम्बुलेन्स र अति अत्यावश्यक काममा हिँड्ने मात्र देखिने गरेका छन् । लकडाउनको उल्लङ्घन गरी हिँड्ने विभिन्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । अत्यवश्यक वस्तुको बिक्रीमा रोक नलगाइएको भए पनि लकडाउनको दुई दिनसम्म खुलेका डेरी पसल तेस्रो दिन भने बन्द गरिएको छ ।

रोग सङ्क्रमण फैलिन सक्ने अवस्थालाई ध्यान दिई बिहीबारदेखि पसल बन्द गर्नुपरेको सीताराम डेरी उद्योग धनगढीका सञ्चालक सर्मानन्द भट्टले बताउनुभयो । पछिल्ला दिनमा सञ्चारमाध्यमले कोरोना भाइरसको महामारी र रोकथामलगायत सम्बन्धी सूचना र समाचारलाई प्राथमिकता दिइरहँदा सर्वसाधारण पनि कोरोनाको समाचार सुन्नकै लागि सञ्चारमाध्यममा झुम्मिने गरेका देखिन्छन् ।

“सञ्चारमाध्यमले दिइरहेको सूचनाकै कारण कोरोनाको रोकथामका लागि अपनाउनुपर्ने उपायका बारेमा सर्वसाधारण जागरुक बन्दै गएका छन्”, स्थानीय शिक्षक लेखराज ओझाले भन्नुभयो, “कोरोनाबारे आउने नयाँ जानकारी आफूले सुन्ने र त्यसपछि अरुलाई सुनाउने गरेको देखिँदा रोगको नियन्त्रणमा टेवा पुग्न सक्छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको रोकथाम तथा निगरानीको पूर्वतयारीस्वरुप गर्नुपर्ने कामका लागि प्रदेशका विभिन्न अस्पताल र जनस्वास्थ्य संस्थामा आइसोलेसन कक्ष स्थापनाको कार्य लागि रु ११ करोड ५० लाख रकम उपलब्ध गराउने निर्णय केही दिनअघि नै गरेको थियो । यसैगरी कोरोनाको रोकथाम प्रयासका लागि गर्नुपर्ने कामका लागि सशर्त अनुदानका रुपमा प्रदेशका गाउँपालिकालाई रु तीन लाख, नगरपालिकालाई रु चार लाख र उपमहानगरपालिकालाई रु पाँच लाख उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरिसकेको छ ।

Comments