कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उहाँले उल्लेख गरे । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बता । मङ्गलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

यसै क्रममा सप्तरीका अधिकांश स्थानमा सरकारको निर्णय उल्लंघन भएपछि सेना परिचालन भएको छ । सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेनाले जमघट र भीड हटाउँदै पसलहरु बन्द गराएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको ठाकुरले जानकारी दिए । गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने पनि ठाकुरले बताएका छन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना भाइरसविरुद्ध लकडाउन अभियानलाई प्रभावकारी बनाउन सेना परिचालन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिमको निषेधाज्ञा जारी गर्दै उक्त ऐनको दफा २ बमोजिम जिल्लास्थित अर्जुनवाण गणलाई परिचालित हुन अनुरोध गरेको बताए। सोमबार सुरक्षा समितिको बैठक पनि बसेको थियो। बैठकले संक्रामक रोग ऐनविपरीत कसैले काम गरेमा कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि गरेको हो।

आदेश पालना नगर्नेलाई कारबाही गर्ने अधिकार प्रजिअलाई दिइएको छ। ‘निषेधाज्ञा जारी गरेपछि सेना परिचालनको अवस्था बन्छ, बैठकले त्यो तयारी गरेको हो’ प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘लकडाउन देशैभर उल्लंघन भएकोले कर्फ्यू समेतमा पुग्ने तयारी भएको हो।’

Comments