नयाँदिल्ली — भारत सरकारले आगामी तीन साताका लागि पुरै देश बन्द गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै पुरै देशमा लकडाउनको घोषणा गरेका हुन् ।

‘आज (मंगलबार) राति बाह्र बजेदेखि पुरै देशभर लाकडाउन हुन गइरहेको छ। घरबाट बाहिर निस्कन पूरा प्रतिबन्ध लगाइएको छ। सबै राज्य र केन्द्रशासित प्रदेश, पत्येक जिल्ला, गाउँ र टोललाई लकडाउन गरिने छ,’ मोदीले सम्बोधनका क्रममा भने। यो निर्णय स्वास्थ्य विज्ञहरु र अन्य मुलुकको अनुभवलाई हेरेर लिइएको समेत मोदीले उल्लेख गरेका छन्। र, यो बन्द गत आइतबारको जनता कर्फ्युभन्दा थप कडा रुपमा लागू हुनेसमेत मोदीले जनाएका छ्न। यो निर्णय कोरोना महामारीविरुद्धको निर्णायक लडाइँ हुनेसमेत उनले बताएका छ्न।

भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश ‘लक-डाउन’ गरिएको हो। यो संख्यालाई यस्तो विन्दु मानिन्छ, जहाँबाट कोरोना भाइरस फैलिने क्रम तीव्र गतिमा बढ्न सक्छ। ‘आगामी २१ दिन हाम्रो दिन अत्यन्तै संवेदनशील छ,’ उनले भने, ‘यसबीच तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ, ‘त्यहीँ त्यहीँ घरभित्रै बस्नुहोला।’

मोदीले पछिल्लो एक सातामा दोस्रोचोटि यस्तो सम्बोधन गरेका हुन्। अघिल्लो सम्बोधनमा उनले आइतबार एक दिन ‘जनताको कर्फ्यू’ लागू गर्दै सर्वसाधारणलाई घरबाट ननिस्कन आह्वान गरेका थिए। त्यसयता संक्रमण फैलिने क्रम जारी रहेपछि पूरै देश ‘लक-डाउन’ गरिएको हो। भारतमा ५१९ जनामा कोरोना भाइरस देखिएको छ भने १० जनाको निधन भएको छ।

Comments