निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएको बताएका छन् । दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले उनले भने, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।”

उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उनले  बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए । “नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो”, उनले भने, “त्यसकालागि म सधै लडिरहनेछु ।”

‘मैले कुनै गल्ती गर्‍या छैन । कुनै अपराध गर्‍या छैन’–उनले भने । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा आफूले ‘टेबुल’ गर्न अनुमति नदिएको समेत उनले उल्लेख गरे ।

‘एमसीसी टेबुल गर्नको निमित्त अनुमति नदिएको मैले हो । त्यो साँचो कुरा हो । एमसीसी मैले नै उठान गर्‍यो हो । तर, एमसीसीको विषयमा सबैभन्दा बढी जानकार मै नै छु’–उनले भने ।

यद्यपि, एमसीसी संसदबाट अनुमोदन नै गर्नहुन्न भन्ने पक्षमा आफू नरहेको उनको भनाइ थियो । ‘टेबुल गर्न केही समय वेट गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । अनुमोदन नै गर्नुहुन्न भन्ने होइन’–उनले भने–‘एमसीसीको विषयमा एक ढंगले हल गर्नुपर्छ भन्ने मैले सोचिराखेको थिएँ ।’

उनले आफू जेल पर्नुमा त्यो पनि एउटा कारण भएको जिकिर गरे । ‘कारण त धेरै होलान्, त्यो पनि एउटा कारण हो । त्यो त प्रधानमन्त्रीजीले पनि भन्नुभा’छ’–उनले भने ।

उनलाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको थियो ।

 

Comments