अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग टिकाटालो गरेकी छन् । सोमवार चुच्चेपार्टीमा रहेको इम्पेरियल बैंक्वेटमा आफ्ना निकट पारिवारिक सदस्यहरुको उपस्थितिमा आँचल र उदिपले औंठी साटेका हुन् । गएको एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरु यही फागुन २९ गते बैबाहिक जीवनमा बाँधिने बताइएको छ । तर, यसको जानकारी आँचलले दिएकी छैनन् । नायिका आँचलकाअनुसार सोमबार उनीहरुको इन्गेजमेन्ट भएको हो । तर, निमन्त्रणा कार्डमा भने शुभविवाहको लागि वरवधुलाई शुभकामना दिन पाहुनालाई आमन्त्रण गरिएको छ ।

आँचल र उदिपको विवाह बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा हुने जानकारी प्राप्त छ । त्यस्तै, फागुन ३० गते उनीहरुले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेका छन् । फेसबुकको माध्यमबाट यी दुईको एकअर्कासँग चिनजान भएको थियो । र, फेसबुकबाटै प्रेममा डुबेका थिए । अभिनेत्री आँचल आफूलाई उदिपको केयरिङ गर्ने बानीले कायल बनाएको बताउँछिन् ।

‘नाईं नभन्नू ल ४’ बाट अभिनय करिअर सुरुवात गरेकी आँचलको नाम लामो समय अभिनेता पल शाहसँग जोडियो । उनीहरुले एकसाथ तीन फिल्म र थुप्रै म्यूजिक भिडियोमा काम गरेपछि प्रेम सम्बन्धको चर्चा चलेको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध कहिल्यै स्वीकार गरेनन् । यी दुईले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको रेडिमेड जवाफ मात्र फर्काइरहे ।

जीवनको दोस्रो अध्याय सुरु गर्न लागेकी अभिनेत्री आँचल शर्माले विवाहपछि पनि फिल्म अभिनयमा सक्रिय रहने बताउँदै आएकी छन् । उनले गएको महिनादेखि विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक फिल्मको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘दुई रुपैयाँ’ टिमको ‘डामाडोल’ नामक फिल्म गर्नेछिन् ।

Comments