काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट स्थित घरमा बस्दै आएका पूर्व सञ्चारमन्त्री गोकुल वास्कोटाले घर छाडेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो वाहिरिएपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीले बाास्कोटालाई आफ्नै घरमा राखेका थिए । प्रधानमन्त्रीका निकै नजिकका मानिने बाँस्कोटाले ओलीको बालकोटस्थित घर छाडेका छन् । बिहीबार मन्त्री पदबाट राजीनामा दिएका बाँस्कोटा बालकोटमै बसेका थिए । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीको निजी निवास छाडेका हुन् ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएर बालुवाटारस्थित सरकारी निवासमा सरेपछि खाली भएको ओलीको घरमा बास्कोटा त्यहाँ बस्दै आएका थिए । पुल्चोकस्थित मन्त्रीक्वार्टरमा खाली भवन नभएका कारण प्रधानमन्त्री ओलीले उनलाई आफ्नो निजी निवासमा राखेका थिए । प्रधानमन्त्रीकै निजी घरमा बसेपछि बास्कोटालाई ओली मन्त्रिपरिषद्मा शक्तिशाली मन्त्री मानिएको थियो । उनको प्रभाव पनि त्यस्तै देखिन्थ्यो । प्रधानमन्त्री ओलीले पनि केही दिन अघि काभ्रेमा भएको एउटा सार्वजनिक कार्यक्रममा बाँस्कोटाको प्रशंसा गदैै दिएको अभिब्यक्तिको सामाजिक सञ्जालमा अहिले ट्रोल भइरहेको छ ।

मन्त्री पदमै बसेर भ्रष्टाचारमा मुछिएको भन्दै चौतर्फी रूपमा बास्कोटालाई प्रधानमन्त्रीको निजी निवास छाड्न दबाब परेको थियो । सामाजिक सञ्जाल र मिडियामा समेत उनको आलोचना भएको थियो । सोही कारण उनले शुक्रबार नै बालकोट छाडेको बताइएको छ । अहिले प्रधानमन्त्रीको निजी घरमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । बास्कोटा प्रधानमन्त्रीको निजी निवासबाट लोकन्थलीस्थित आफ्नो चारकोठे घरमा बस्न थालेको बताइएको छ । सो घर बनाउँदा बास्कोटाले बैंकसँग १५ लाख रुपैयाँ ऋण लिएको समाचार बाहिरिएको थियो ।

Comments