काठमाडौँ : सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको छ ।

७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि छानविनलाई सघाउन भन्दै बाँस्कोटाले राजीनामा दिएका थिए । यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा ध्यानमा राख्दै अख्तियारले बाँस्कोटालाई निरगानीमा राखेको स्रोतले बताएको छ ।

बाँस्कोटासँग छिट्टै अख्तियारले बयान लिने तयारी गरिरहेको पनि बुझिएको छ । बाँस्कोटाले राजीनामा दिएपछि उनको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिइसकेको छ । साथै सम्बन्धित निकायसँग सम्पूर्ण विवरण मगाइएको छ ।

प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडिओ बुधबार सार्वजनिक भएको थियो । अडिओ सार्वजनिक भएको भोलिपल्ट बिहीबार बाँस्कोटाले राजीनामा दिएका हुन् ।

Comments