चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ। शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो।

कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक/एक जना इन्जिनियर र लोडमास्टर छन्। चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ।

नेपाल उड्नुअघि वुहानमा पनि सबैको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणको क्रममा कसैलाई कोरोनाभाइरको लक्षण देखिएको उतै क्वारेन्टाइनमा राखिनेछ।

नेपालीलाई वुहानबाट उद्दार गरेर काठमाडौं ओरालेपछि सिधैं क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा लगिनेछ।

जहाजमा रहेका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राखिनेछ।

चीनबाट ल्याइएका नेपालीलाई विमानस्थलमा कोरोना जाँच गरिने छ । कोरोनाको लक्षण देखिएकालाई टेकु अस्पतालको आइसोलेसनमा लगिने छ भने अन्यलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिरणमा राखिने छ ।

उनीहरुलाई दुई साता प्राधिकरणको क्वारेन्टाइनमा राखिने छ, त्यसक्रममा उनीहरुले आफ्ना अभिभावकसँग पनि भेटघाट गर्न पाउने छैनन् । क्वारेन्टाइन लागि सरकारले १ सय ९९ वेडको व्यवस्था गरिसकेको छ ।

चीनबाट नेपाली नागरिकको उद्धारका लागि सरकारले १२ करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।

हाल चीनमा मात्रै १५ सय २३ को ज्या न लिइसकेको र ६६ हजार बढी सं”क्रमित भइसकेका कोरोना भाइरसको उद्गमस्थल वुहानमा चिनियाँ सरकारले सं”क्रमण नफैलियोस भनेर कडा निर्देशन जारी गरेको थियो।

सरकारको निर्देशन अनुसार त्यहाँ रहेका कोलनी, होस्टललगायत एउटा घरबाट अत्यावश्यक सामान किन्न हप्तामा एक जनामात्रै बाहिर निस्कन पाउथे। बजर, यातायात ठप्प थियो। कोठामा एक्लै हुँदा यादवलाई थुनावा बसेजस्तो लागेको थियो।

‘यहाँको हालत अहिले पनि निकै खराब छ। निकै अप्ठ्यारो परिस्थितिबाट ढिलै भए पनि नेपाल फर्कन पाउँदा खुसी लागिरहेको छ,’ शनिबार राति नेपाल आउन लागेका उनले खुसी व्यक्त गर्दै भने।

झण्डै एक महिना लामो रस्साकस्सीपछि अन्ततः नेपाल सरकारले चीनको हुबेइमा रहेका नेपालीलाई स्वदेश ल्याउन आज (शनिबार) नेपाल वायु सेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्थान गर्दैछ। यसअघि चीनस्थित नेपाली राजदूतावासमा नेपाल फर्कन चाहनेमा नाम दर्ता गरेका यादवसहित वुहानबाट १८५ नेपालीलाई स्वदेश ल्याउन लागिएको हो।

नेपाली दूतावासको निर्देशनअनुसार नेपाल फर्कन चाहने हुबेई प्रान्तको वुहानलगायतका शहरका नेपालीहरुलाई ६ घण्टा अगावै विमानस्थल पुगिसक्न भनिएको छ। विमानस्थलबाट टाढाका सहरमा रहेका नेपालीलाई शनिबार बिहानैदेखि बसले बोक्न शुरु गरिसकेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले बताए।

‘सबै नेपालीहरुलाई बसको रुट, सम्पर्क व्यक्ति लगायत आवश्यक सम्पूर्ण विवरण दिइएको छ,’ उनले भने, ‘टाढा रहेका नेपालीहरु बिहानैदेखि बसमा हिँडिसकेका छन् भने नजिक हुने पनि हिँड्नेक्रममा छन्।’

विभिन्न विश्वविद्यालय तथा होस्टलहरुलाई बसस्पटका रुपमा प्रयोग गरिएको छ। बसमा चढ्नुअघि मास्क, पञ्जा लगायत सुरक्षा सामग्रीहरु प्रयोग गर्न निर्देशन अनुसार आफूहरु यात्राका लागि तयार रहेको वुहान विश्वविद्यालयमा पीएचडी गरिरहेका नेपाली विद्यार्थी अशोक साहले भने।

Comments