मोरङको सुन्दरहरैंचा ८ सलकपुर स्थित पूर्व पश्चिम लोकमार्गमा गए राति तिव्र गतिमा रहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको घटनास्थलमै निधन भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन ।

तिव्र गतिमा रहेको को ३७ प १७ तथा को ३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए । निधन हुनेमा सुन्दरहरैंचा ८ बस्ने २२ वर्षका विशाल खत्री र सुन्दरहरैचा १२ बस्ने २३ वर्षका अर्पण गुरागाईँ रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार संखुवासभा चैनपुर २ बस्ने ३० वर्षीय लक्ष्मण खत्री तथा सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् ।

घाइते २ जनालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पुर्याइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दुबैले मापसे सेवन गरेको खुलेको प्रहरीले बताएको छ ।

त्यस्तै काभ्रेको बनेपामा जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको निधन भएको छ ।

बनेपा नगरपालिका–१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको निधन भएको हो ।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट ग म्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

२०५१ साल कार्तिक १ गते देखि प्रहरी जवान पदबाट प्रहरी सेवामा प्रवेश गरेका गुरुङ्ग साविक नवलपरासी जिल्ला त्रिवेणी गाविस वडा नम्वर ८ का स्थायी बासिन्दा हुन् । प्रहरी जवान हुँदै २०६१ कार्तिक १५ गते हवल्दार हुँदै २०७० जेष्ठ ३१ प्रहरी सहायक निरिक्षक (असई) पदमा बढुवा भएका थिए । सवारी चालक भक्तपुर नगरपालिका वडा नम्वर १० घर भएका ३१ बर्षिय विक्रम जाकिबञ्जारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुरुङ्गका श्रीमती, एक छोरा र एक छोरी छन् ।

फागुन ९ गते शिवरात्रीको अवसरमा नासिकासाँगा स्थित आशापुरेश्वर महादेव मन्दिरमा हुने जात्राको ब्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल लामासँग छलफल सकेर गुरुङ्ग अरनिको राजमार्ग क्रस गरी कार्यालय जाँदै गर्दा अत्याधिक स्पिडमा आउँदै गरेको बुलेरोले ठक्कर दिएर गुरुङ्गको निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक विशाल लामाले जानकारी दिनु भयो ।

तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याईए पनि उपचार नहुँदै गुरुङ्गको निधन भए पछि शिक्षण अस्पताल महाराजगञ्जमा शव परिक्षणका लागि लगिएको छ । गुरुङ्गको श्रीमती पूर्व प्रहरी हुन् ।

Comments