नेपालगञ्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा विकास हुँदै गएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार बाँकेमा हालसम्म अर्बौं लगानीका झण्डै १०० ठूला उद्योग स्थापना भई सञ्चालनमा छन् भने घरेलु तथा साना उद्योगको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ । उद्योग क्षेत्रमा पश्चिम नेपालका अरू जिल्लाभन्दा सङ्ख्या र लगानीका हिसाबले बाँके अगाडि देखिए पनि पर्याप्त भने यो होइन । आर्थिक क्षेत्रका जानकारहरु उद्योग–व्यवसायका लागि बाँकेमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि लगानीकर्ताहरु आकर्षित हुन नसकेको बताउँछन् । काठमाडौँमा बसेर पश्चिमलाई हेर्ने राज्य सञ्चालक र लगानीकर्ताको सोच तथा दृष्टकोणमा खासै भिन्नता देखिएको छैन् । राज्यको ध्यान केन्द्रित भयो भने त्यहाँ लगानीकर्ता आकर्षित हुने कुरा नौलो पनि होइन । लगानी सुरक्षाका लागि राज्यको ध्यान जहाँ छ, त्यहाँ लगानी खन्याउने गरिएको छ ।

सशस्त्र द्व न्द्वको निकै धेरै मार खेपेका बाँकेले लगानीकर्ता आकर्षण गर्ने त टाढाको कुरा हो, भएकै लगानीसमेत जोगाउन नसकेको अवस्था थियो । ठूला लगानीका कैयौँ उद्योग बन्द भए त्यसबेला तर देशमा शान्ति स्थापनासँगै सङ्घीयता कार्यान्वयनमा आएपछि बाँकेमा ठूला लगानीकर्ता धमाधम भित्रिन थालेका छन् । जानकी गाउँपालिकामा रु चार अर्ब १५ करोड लगानीको अम्बे छड उद्योग स्थापना त्यसैको एउटा सबल उदाहरण हो ।

लगानीको माहोल बनाउन बाँकेमा पछिल्लो समय तीव्र बहस र छलफल हुन थालेका छन् । त्यसका लागि लगानी सम्मेलनको चर्चासमेत भइरहेको छ । अहिले स्थानीय तहदेखि सङ्घीय सरकारसम्मले लगानी सम्मेलनमार्फत लगानीकर्ताको ध्यान खिचिरहेका बेला बाँकेमा पनि लगानी सम्मेलनको बहस तात्तिदै गएको हो । यति हुँदाहुँदै पनि बाँकेमा अपेक्षाकृत उद्योगको सङ्ख्या बढ्न सकेको छैन ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको यही माघ ११ गते हुने निर्वाचनमा समेत उद्योगीहरुबीच लगानी सम्मेलनको विषयले चर्चा पाएको छ । अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी समूहले आफ्नो घोषणापत्रमा लगानी सम्मेलनमार्फत बाँकेमा लगानीकर्ताको ध्यानाकर्षण गराउने कुरालाई प्राथमिकताका साथ उठाएको छ । लगानी बोर्डलाई आह्वान गरी विज्ञसमूहमार्फत त्यसको स्पष्ट खाका निकट भविष्यमै निर्धारण गर्ने विषयलाई सो घोषणापत्रमा उठाएको छ ।

उहाँको घोषणापत्रमा भनिएको छ, ‘नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकीकृत भन्सार चेकपोष्ट (आइसिपी), रेलमार्ग विस्तार, नौवस्ता औद्योगक क्षेत्र, विशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग र करकारखाना स्थापना हुने प्रशस्त सम्भावना छ । यसका लागि लगानीकर्तालाई आकर्षित गर्न हाम्रो पहलकदमी पनि आवश्यक देखिन्छ ।’

देशविदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्न स्पष्ट योजना तथा खाकासहित लगानी सम्मेलन, अन्तरराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनीजस्ता विषयगत मेला आयोजना गर्ने प्रतिबद्धता जनाउने तथा लगानी सम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यान यसतर्फ खिचिने विषयलाई घोषणापत्र उल्लेख छ ।

त्यस्तै ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलले बाँके जिल्लाको लगानीका लागि उपयुक्त ठाउँ भएकाले लगानीकर्तालाई आकर्षित गर्ने वातारण सिर्जना गरिने प्रतिबद्धता जनाएको छ । समावेशी समूहको घोषणापत्र कार्यान्वयन हुन्छन् वा हुँदैनन् आगामी दिनमा थाहा होला तर यसले बाँकेमा लगानीकर्ता तान्ने बहसलाई उचाइमा पु¥याइदिएको बताउनुहुन्छ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ । उहाँ भन्नुहुन्छ, “लगानीका लागि उपयुक्त वातावरण बनेको छ । अब हामीले लगानीकर्तालाई ल्याउनमात्र बाँकी छ । त्यसका लागि पहल गरौँ ।” स्थानीय तहदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । “राजनीतिक स्थिरता र ऊर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ, बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ”, श्रेष्ठ भन्नुहुन्छ ।

बाँके जिल्ला लगानीकर्ताका लागि आफैँमा ‘सुनौलो’ ठाउँ भएको उहाँको भनाइ छ । राज्यको पुनःसंरचनासँगै बाँकेले प्रशासनिक र राजनीतिक शक्ति गुमाएको छ तर, पश्चिम नेपालको ‘आर्थिक हब’ बन्ने दौडमा बाँके जिल्ला दरिएको छ । पूर्वमा मात्र केन्द्रित उद्योगहरु एकपछि अर्को गर्दै बाँकेमा खुल्न थालेका छन् । राजनीतिक स्थिरतापछि देशभर लगानीको वातावरण बन्दै जाँदा त्यसको प्रत्यक्ष फाइदा बाँकेलाई पनि मिलेको छ ।

बाँके जिल्ला पहिलेदेखि लगानीका लागि उपयुक्त ठाउँ रहेको नेपाल प्लाइउड उत्पादक सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका उद्योगी चम्पालाल बोथ्राको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बाँकेमा अहिले लगानीका लागि सम्भावनाको ढोका अझ फराकिलो बन्दैछ ।” सङ्घीयतापछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिकजसो हरेक उत्पादनको बजार क्षेत्र बढ्दै गएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै प्रस्तावित लुम्बिनी प्रदेशलाई चाहिने वस्तुको हिस्सा ओगट्न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नैपर्ने बाध्यता रहेको बोथ्राको भनाइ छ । राजनीतिक अस्थिरता र ऊर्जालगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वार बाँके भएकाले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उहाँ बताउनुहुन्छ । “अहिले अवस्था सुध्रिएको छ, एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ”, उहाँ भन्नुहुन्छ, “यो वातावरणलाई सधैँ यस्तै बनाइराख्न जरुरी छ ।” विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माण सामग्रीको माग ह्वात्तै बढेको छ । पूर्वमा उत्पादित सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानीमा धेरै खर्च पर्छ । यहीँ उद्योग खोलेर उत्पादन गर्दा दीर्घकालीन रुपमा फाइदा हुने भएपछि उद्योगीहरु बाँकेमा उद्योग स्थापना गर्न तम्सिएको उहाँको बुझाइ छ ।

ठूलो परिमाणमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग सञ्चालनका लागि रोजेको शिखर प्लाइउड प्रालिका सञ्चालकसमेत रहनुभएका बोथ्राले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहजरुपमा जग्गा प्राप्त गर्न सकिने हो । अन्य ठाउँभन्दा सहज रुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आकर्षण देखिन्छ ।”

पश्चिम नेपालको पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिँदैछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई ध्यानमा राख्दै सरकारले बाँकेको नौवस्तामा प्रदेश नं ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ । भारतसँग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणका क्रममा रहेकाले पनि उद्योगीहरुले बाँके जिल्लालाई रोज्न थालेका छन् ।

Comments