काठमाडौं, ७ माघ । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बेहोस भएर काठमाडौं उपचारमा ल्याइएका ८ जना भारतीयको निधन भएको छ। उनीहरुलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो ।

प्रहरीका अनुसार हेलिकप्टरमा ल्याइएका ८ जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सोमबार थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई कर्मचारीले खबर गरेका थिए ।

उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। उपचारमा ल्याइएकामध्ये पाँच जनाको निधन भइसकेको अस्पताललाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जानकारी दियो ।

निधन हुने तीन जना महिला र दुई पुरूष रहेको र उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ । उनीहरू झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका थिए। त्यसकारण उनीहरु एक्कासी अचेत हुन पुगेको प्रहरीले आशंका गरेको छ । उनीहरू निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ। नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

Comments