कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्षीय रतन विकको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा ग म्भीर घाइते भएका विकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ । बोहराको निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

मुटु र फोक्सो सम्बन्धी बिरामी रहनुभएका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत हुनुहुन्थ्यो ।

धरानका पूर्वप्रमुख राईको निधन

तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईको ६० वर्षको उमेरमा आज निधन भएको छ । अर्बुद रोगको उपचार गराइरहनुभएका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ अभियानका संयोजक महेश श्रेष्ठले बताउनुभयो । प्रमुख राई विगत एक वर्षदेखि अर्बुद रोगको उपचारमा हुनुहुन्थ्यो । भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उहाँलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उहाँ विसं २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुखमा निवार्चित हुनुभएको थियो ।

Comments