काठमाडौं । भारतले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतीय सरकारको वाणिज्य विभागले बुधवार एक परिपत्र जारी गर्दै गरेको यो निर्णयको प्रत्यक्ष असर नेपालबाट हुने पाम आयल निर्यात र यसमा संलग्न उद्यमीहरूलाई हुनेछ ।

भारत सरकारको पछिल्लो निर्णयले नेपालबाट हुने पाम आयलको निर्यातसँगै मुलुकको समग्र निर्यात पनि प्रभावित हुने देखिन्छ । अहिले नेपालको कुल निर्यातमा करीब २५ प्रतिशत हिस्सा यसले ओगटेको छ ।

भारतको वाणिज्य विभागअन्तर्गतको बिदेश व्यापार निर्देशनालयद्वारा जारी परिपत्रअनुसार प्रशोधित पाम आयल र प्रशोधित पाल्मोलिन आयलको आयातमा रोक लगाएको उल्लेख छ । सो निर्देशनालयले प्रशोधित पाम आयलको आयातलाई ‘खुला’ वर्गबाट हटाई ‘प्रतिबन्धित’ वर्गमा राखेर परिपत्र जारी गरेको हो ।

पछिल्लो समय प्रशोधित पाम आयल नेपालको नम्बर एक निर्यातजन्य बस्तु बन्न पुगेको छ । गत आर्थिक वर्षदेखि नेपालबाट बढ्न थालेको यसको निर्यात मुख्यतः भारतमै हुने गरेको छ ।

चालू आवको पहिलो पाँच महीनामै नेपालबाट भएको पाम आयलको निर्यात गत आर्थिक वर्षको भन्दा बढी छ । यस वर्ष ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको छ । जबकि गत आवमा नेपालबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको थियो ।

पाम आयलको भारततर्फ निर्यात आकाशिनुमा नेपालमा यसको आयात महशुल भारतभन्दा सस्तो हुनु र त्यसको फाइदा व्यापारीहरूले उठाउनु नै हो । सुपारी र मरीचमा जस्तै यसमा पनि नेपाली व्यवसायीले भारतको आयात नीतिको छिद्रमा खेल्दै भन्सार दर (ट्यारिफ डिफरेन्स) को फाइदा उठाएका थिए ।

भारतले आशियान मुलुकबाट आयात हुने पाम आयलको भन्सार दर बढाएपछि त्यसको प्रत्यक्ष फाइदा नेपालका व्यवसायीहरूलाई भएको थियो जसले कच्चा पाम आयल आयात गरी भारतमार्फत प्रशोधन गरी निर्यात गर्दै आएका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक वरिष्ठ अधिकारीले आर्थिक अभियानसँगको कुराकानीमा भारतीय कदमले नेपालबाट हुने यसको निर्यात बन्द हुनसक्ने बताए । उनले भने, ‘अहिले नेपालबाट पाम आयलको निर्यात राम्रो भइरहेको छ । भारतको उक्त कदमले तत्काल नै असर गर्नसक्ने देखिन्छ ।’

अब सम्बन्धित निकाय र त्यहाँका अधिकारीहरूसँग यस विषयमा छलफल गरी सरकारको आधिकारिक धारणा जारी गरिने उनको भनाइ छ । ‘हामीले पनि बुधवार साँझमात्र यस विषयमा थाहा पायौं । सम्बन्धित अधिकारी र निकायसँग छलफल गर्न भ्याएका छैनौं, ’ उनले भने, ‘अब सम्बन्धित व्यक्ति र निकायसँग छलफल गर्छाैं ।’
अन्तरराष्ट्रिय समाचार संस्थाहरूले मलेशियाले कश्मीर र नयाँ नागरिकता कानूनलाई लिएर भारतको आलोचना गरेसँगै भारतले यस्तो कदम चालेको बताएका छन् । भारतमा सबैभन्दा धेरै प्रशोधित पाम आयल आयात मलेशियाबाट हुने गरेको छ । यससँगै अब भारतले केवल कच्चा पाम आयल आयात गर्ने छ ।

यो साताको शुरूमा भारतले पाम आयल प्रशोधक र व्यवसायीहरूलाई मलेशियाली पाम आयल आयात रोक्न निर्देशन दिएको थियो । अहिले लगाइएको प्रतिबन्धको उद्देश्य वनस्पति तेलको प्रशोधन गर्ने भारतीय व्यवसाय विस्तार पनि हुनसक्ने बताइएको छ । यो समाचार आजको आर्थिक दैनिकमा छ ।

Comments