अमेरिका बस्ने पहिलो आवासीय राजदूत म नै हो । मलाई बीपी बाबुले पठाएका । त्यसैले उनीप्रति मेरो लोयल्टी हुने नै भयो । महेन्द्रले मलाई सार्‍है दुख दिएनन् । उनीसंग मेरो रिलेसन राम्रो थियो । बीचबीचमा उनी जोक गर्थे । सुवर्णशम्शेरकी रानीलाई रानीसाहेब र मेरी पत्नीलाई मिसेस शाह भन्थे । महेन्द्रको बोली छुच्चो थियो । आफ्नी स्वास्नीलाई हरिशमशेरकी स्वास्नी भन्थे । त्यसैले रत्न सधैं रुने गर्थिन । हरिशमशेरले छापा मा’र्ने भने, छापा मा’र्ने भनेको गुरिल्ला लगेर आ क्रमण गर्ने हो । बीपीले एक पटक मृगेन्द्रशमशेरसंग भेट्ने भनेपछि मैले लिएर गएँ । बीपीलाई किन लिएर गएको भनेर मसंग सुवर्णशमशेर रिसाए । नातामा दुवै कजन पर्छन् । मृगेन्द्रको घरमा जाँदा मृगेन्द्रका श्रीमतीहरु जप गरेर हरेराम गाइरहेका थिए । मातृका त्यतिबेला प्रधानमन्त्री थिए र उनले मृगेन्द्रशमशेरलाई थुनेका थिए । चन्द्रशमशेरका नाति मृगेन्द्रशमशेर कहिल्यै जेल गएका थिएनन् । बीपीले हामी सकेको गर्छौं भनेर ढाडस दिएका थिए ।

टंकप्रसादले मसंग तिम्रो साथी यदुनाथ खनाललाई मेरो सेक्रेटरी भइदिन भनिदेऊ न भने । यदुनाथ उनको पर्सनल सेक्रेटरी भएपछि नै लाइटमा आएका हुन् । त्यहीँबाट उनको करिअर सुरु भयो । चूडाप्रसादले यदुनाथ खनाललाई इन्डियन एजेन्ट हो भने किनभने यदुनाथले भारतीय राजदूत भगवान सहायका छोरालाई अंग्रेजी पढाउँथे । मेरो पनि अन्तमा भगवान सहायसंग झगडा भयो । उनले के भने भने महेन्द्रलाई तिमीले बीपीलाई छोड्दे भन्नु नपर्ने । यो सत्र सालतिरको कुरा हो । मैले मेरो राजालाई किन भन्न नहुने भने । उनी रिसाए ।

सत्र सालको घटना हुनुभन्दा अघि म अमेरिकाबाट फर्किसकेको थिएँ । बनारसी गुण्डाहरुलाई दिन्न भनेर महेन्द्रले भनेपछि म उहाँकै पछि लागें । राजाले नयाँ संविधान चाहियो भने । मैले त्यो बनाएँ । सबैभन्दा लामो समयसम्म चलेको संविधान नै त्यही हो । त्यसमा के लेखेको छ भने राजामा सबै पावर हुन्छ । सात दिनमा संविधान बनाएर दिएँ । मलाई तक्मा दिए । गोर्खा दक्षिणबाहु सेकेण्ड क्लास दिए मैले लाउँदै लाइनँ । म अमेरिकामा राजदूत भएर गएपछि महेन्द्र अमेरिका आउँदा गोर्खा दक्षिणबाहु प्रथम लगाइदिए । मैले त्यो तक्मा पैसाको खाँचो परेको बेला बेचिदिएँ ।

राजा महेन्द्रको शासनकालमा म प्रधानमन्त्री बाहेक सबै भएँ । महेन्द्रले मलाई तिमी पल्टनमा मात्र भएनौ भने । विश्वबन्धु छुल्याहा के भन्छ भने ‘सरकार यो पल्टनमा भए त कू गरिहाल्थ्यो नि ।’ चौध वर्षको उमेरमा म दार्जिलिङबाट फर्किसकेको थिएँ । जुद्धशमशेरलाई कसैले मैले आर्टस पढेको भनिदिएछ । जुद्धशमशेरले भने ‘साइन्स पढेको भए पो आउँथ्यो ।’ मैले भने ‘म उल्लू थिएँ महाराज, निगाहा हुन्छ भने म देहरादून जान्छु मिलिटरी एकेडेमीमा’ इन्द्रबहादुर कर्णेल हजुरिया थिए । उनले मेरो बारेमा सबै कुरा भनिदिएका रहेछन् । जुद्धशमशेरले इन्द्रबहादुरमार्फत मृगेन्द्रशमशेरलाई भनेर मलाई पठाइदिने व्यवस्था मिलाइदिन भने । किन पठाउँथे मृगेन्द्रले, जुद्धशमशेरले छोडेर गइहाले । म गइनँ बरु मेरो नाताका थीरबम मल्लले देहरादून पढे । मलाई रानी रत्नले भन्नुभएको वीरेन्द्रले ज्ञानेन्द्रको घाँटी समातेर मारेका थिए रे ! ‘के फूर्ति गर्छौ तिमी भन्दा अगाडि म राजा भएको’ भनेर ज्ञानेन्द्रले भनेकाले झगडा परेको रहेछ ।

सुरजितसिंह मजेठियालाई भारतको राजदूत बनाएर यहाँ पठाइएको थियो । उसैसंग साँठगाँठ गरिकन र उसैको मोटरमा त्रिभुवन भागेका हुन् । अंग्रेजले त्यो कुरा थाहै पाएनन् । अहिलेको शितल निवासमा मजेठिया बस्थ्यो । अंग्रेजहरुले यस्तो कुरा चाहेका थिएनन् । राणाको समयमा मेरो एउटा कजन बबरशमशेरको चाकरी गर्थे । ट्रान्जिस्टर रेडियोमा त्रिभुवन भागेको कुरा सुनेर उनले बबरशमशेरलाई भनेका रहेछन् । विश्वेश्वर र मातृका कन्जरभेटिभ हो । विश्वेश्वर फर्वाड लुकिङ भएको मान्छे । त्रिभुवनलाई त विश्वेश्वरप्रसाद मन पर्नुपर्ने हो । भारतीयहरुले खासगरी चन्द्रेश्वर प्रसाद सिन्हाले बडो दुष्ट्याइँपूर्ण रोल खेल्यो । त्रिभुवन र मोहनशमशेरसंग पनि त्यसले पैसा खान्थ्यो । ‘छोटे कोइराला ऐसा है, बडे कोइराला ऐसा है’ भनेर दुवैलाई लडाउने गथ्र्यो । विश्वेश्वरप्रसाद गृहमन्त्री हुँदा म र टंकप्रसाद गोलघरमा थुनिएका थियौं । हामीलाई विश्वेश्वरले थुनेको । त्यहीबेला हो टंकप्रसादको खल्तीमा त्रिभुवनले कम्पनी ५० हजार हालिदिएको तिम्रो त एउटा कोटसम्म पनि रहेनछ भनेर ।

बेनीबहादुर कार्कीले भरतशमशेरकी कान्छी स्वास्नी (हाडनाता पर्ने) लाई भगाएको हो, त्यही भरमा भरतशमशेरले अलिअलि पैसा दिएर राखेको । पछि त ठूलो मान्छे भएर भरतशमशेरलाई कसले टेर्छ भन्छ । अस्ति भर्खर इन्डियन एम्बेसीमा जसको अन्न खाइस् त्यसलाई यसो भन्छस् भनिदिएँ । दामोदरशमशेरहरुले केशरजंगहरुलाई भारतबाट बोलाएर फोहरा दरबारमा कम्युनिष्ट पार्टीको अधिवेशन गराए । त्यतिबेला काठमाडौंमा सीआईएको रकी स्टेन भन्ने बहिरो मान्छे थियो । उसले सबैले बोलेको कुरा टेपमा रेकर्ड गर्यो । त्यहीबेलादेखि नै कम्युनिष्टहरुलाई दरबारले हात लिएको सबै कुरा बाहिर आए । हिक्मतलालसिंह भण्डारी र तुलसीलाल अमात्य मात्र बचे । यिनीहरु बाहिर गएर पार्टीलाई अलिअलि सहयोग गर्न खोजे ।

डा. केशरजंग रायमाझीले पार्टीलाई राजा महेन्द्रकहाँ लगेर बुझाएका हुन् । राजाले सत्र साल पुस १ गते जुन टेकओभर गरे त्योभन्दा प्रोग्रेसिभ कुनै अर्को स्टेप छैन समेत भन्न भ्याए रायमाझीले । ज्ञानेन्द्र सरकार र मेरो छोरा साथी हुन् । ज्ञानेन्द्र मेरो छोराभन्दा दुई वर्ष जेठो, दुवैको ग्रह पनि मिल्छ । मेरो छोरा श्रीप्रकाश शाहले ज्ञानेन्द्रको पकेट खर्च जोगाइदिन्थ्यो । ज्ञानेन्द्रले पाउने मासिक दुई सय पहिलो तारिखमै स्वाहा हुने । यो दार्जिलिङको नर्थ प्वाइन्ट स्कुलमा पढ्दाताकाको कुरा हो मलाई ज्ञानेन्द्र पहिलादेखि नै मनपथ्र्यो । चीलले कुखुरालाई छोपेझैं गरी दिल्ली सम्झौता भएको हो ।

विश्वेश्वरले विजयशमशेरसंग कुरा गर्न जाउँ भन्दा मातृकाले विजयशमशेरसंग किन कुरा गर्न जाने भने । जो कुरा नेहरुले भने त्यही अनुसार भयो । अन्तरिम सरकारको खटनपटन उतैबाट मिलाइएको थियो । सीपी सिन्हाले छोटे कोइराला लडाकू है, बडे कोइराला ठीक है भने । विजयशमशेर नेहरुको हजुरिया भएका थिए । विजयशमशेर बिजुलीको करेन्ट लिक भएको पानी तताउने बाथटबमा परेर दिल्लीमै मरे । विजयशमशेरको आफ्नै बहिनीको लसपस थियो । मोहनशमशेरले एउटा नेवार ठिटोलाई वाच गर्न राखेका थिए । उसले त्यो कहाँ कतिबेरसम्म बस्यो सबै कुरा मोहनशमशेरलाई भन्ने ।
संविधानसभाको चुनाव गराउन त्रिभुवन त चाहन्थे तर कुनै पार्टीले पनि त्यसबारे गम्भीर चासो देखाएनन् । बँदेलको मासु खाँदा त्रिभुवन यो हृषिकेश मासु हो भनेर खान्थे । म भरतशमशेरसंग लागें भनेर त्रिभुवन रिसाएका थिए ।

पद्मशमशेरले मलाई जागिर दिए । मृगेन्द्रशमशेरले खेदे । त्रिभुवनले महावीरशमशेर र मातृकालाई स्वीटजरल्याण्ड बोलाउनु भयो । हामीले त्यो रोक्यौं । भगवान सहाय भर्खर आएका थिए । मैले जान दिनु हुँदैन भने । नेहरुलाई भनेर यिनीहरुलाई रोकेर शेरबहादुर मल्ललाई पठाउन लगाएँ । त्रिभुवनलाई नेहरुले ठूलो गुन लगाएकोले नेहरुले भनेको जे पनि मान्ने । महावीर र मातृका गएको भए पूरा इन्डियाको हातमा परिन्थ्यो । महेन्द्रले निर्वाचित सरकारलाई जसरी लिए, त्यो लिने आँट, बुद्धि, क्षमता उनी आफैंलाई आएको हो । हामी पनि थियौं पछाडि । टंकप्रसाद आचार्य पनि थियो । महेन्द्रको सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउने इरादा थियो । सुवर्ण असल हुन तर आँटी होइनन ।

महात्मा गान्धीले गरेको भद्र अवज्ञा आन्दोलनको अवधारणा सिको गरेर २०१४ सालमा यहाँ पनि त्यस्तै आन्दोलन चलाइएको हो । डिल्लीरमण, केदारमान सबैभन्दा बढी कराउने । वासुपासा भरतशमशेरलाई कुटेर फेमस भएको । राणाहरुलाई कमजोर पार्न र उनीहरुसंग पावर लिन त्यो आन्दोलन चलाइएको थियो । यद्यपि आन्दोलन २००७ सालपछि भएको थियो । २०१५ सालमा राजा महेन्द्रले मलाई चुनाव नलड बरु एकेडेमीमा हेड होउ भने । म अमेरिकाबाट फर्किएर आएपछि चुनाव लडें । पछि त लगेर थुनिहाले ।

सात सालको क्रान्ति क्रान्ति होइन भ्रान्ति थियो । बाहिर अरुलाई देखाउन क्रान्ति भनियो । संविधानसभाको चुनाव हुनुपर्ने त्यतिकै टारे । त्रिभुवनले दिएकै संविधानसभा हो । राणा–कांग्रेस संयुक्त सरकारको पतनपछि प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालाले पनि संविधानसभाको चुनाव गराउन चाहेनन् । संविधानसभाको चुनाव नहुनुमा भारतको कुनै भूमिका छैन । नेहरुले त्रिभुवनलाई पक्का संविधान बनाइदिएका थिए संविधानसभा भनेर, त्यो लागू नै भएन । सबैभन्दा बढी बिगार्नेमा नेपाली र भारतीय ब्युरोक्र्याट् नै भए । गोविन्दनारायण त्रिभुवनको पर्सनल सेक्रेटरी र एडभाइजर नै थिए नेहरुले बनाएर पठाएको ।

लियो ई. रोजलाई सीआइएको एजेन्ट भनेर टंकप्रसादले राजा महेन्द्रकहाँ जाहेर गरिकन देशबाट निकाल्ने कुरा गरे । मैले भनेयसरी निकाल्ने कुरा ठीक हुँदैन भनें । सीआईएको एजेन्ट हो भने आफ्नो बुद्धिले जान्छ । कीर्तिनिधि विष्ट पनि कुरा बुझ्दैन । हो हो निकाल्नै पर्छ भन्छ । नेपालको ठूलो नेता विश्वेश्वरप्रसाद कोइराला हो । बाहुनको चित्त माखाको पित्त भन्ने नेपाली उखान छ तर उनको चित्त यति ठूलो थियो कि हामीहरु सबै त्यसमा अटायौं । बोलाइकन मलाई पार्टीको जेनरल सेक्रेटरी बनाए, अरु कसैले त्यसरी बोलाएर जिम्मेवारी देलान ? अटोबायोग्राफी हेर्नुस् न मेरोबारेमा बडो राम्रो लेखेका छन् । तर मैले यो सब भनेको मेरो बारेमा राम्रो लेख्यो भनेर होइन । बीपी कोइराला नेपालका प्रभावशाली नेता हुन । तैपनि मेरो हिरोज एन्ड बिल्डर्स किताबमा उनलाई राखिनँ, म कन्जरभेटिभ राजभक्त भएर हो कि ?

दिवंगत शाहको पुरुषार्थ र प्रारब्ध पुस्तकबाट साभार

Comments