काठमाडौं, २९ मंसिर । कास्कीको पोखरामा अहिले नेपाल लिटरेचर फेस्टिभल चलिरहेको छ । विभिन्न विधामा भइरहेको छलफलका क्रममा आइतवार भने राजनीतिक वहस भयो । वहसमा वहसमा नेपाली कांग्रेसका सांसाद गगन थापा, नेकपाका नेता तथा पर्यटनमन्त्री योगेश भट्टराई र साझा पार्टीका नेतारवीन्द्र मिश्र सहभागी भए । सो सेसनलाई सञ्चालन गरेका थिए पत्रकार उमेश चौहानले ।

नेता रविन्द्र मिश्रले आफुहरुले सुरु गरेको वैकल्पिक राजनीतिको वाटोवाट अबको लागि राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व जन्मने दावी गरे । वर्तमान नेताहरुले नयाँ नेतृत्व जन्माउन नसक्ने तर्क राखे । राजनीतिक नेतृत्वको आचरण गलत भएको भन्दै नयाँ नेतृत्वबारे उनले भने, हामी यस्तो नेतृत्व चाहन्छौं जसले बालुवाटार वा आलम काण्ड नगरोस्। उनले अहिलेका राजनीतिक दल हतियार नबोकेका लडाकु भएको दावी गरे । गाउँको स्कुलमा पढाउने शिक्षक पनि राजनीतिक दलको कार्यकर्ता हुनुपर्ने बताए ।

सोही क्रममा योगेश भट्टराईले नेकपा र कांग्रेससहितका दलको संघर्षबाट नै लोकतन्त्र आएको र जनताले आफ्नो विचार राख्न आएका बताउँदै मुलुक विकास र समृद्धिमा अघि बढेको दाबी गरे । हालसम्मको राजनीतिक संघर्षबाटै जनताले स्वतन्त्रता पाएको भन्दै उनले भने, ‘यदी केही नभएको भए यतिखेर म र गगन मसाल लिएर आन्दोलन गरिरहेका हुन्थ्यौं र रवीन्द्रजी बीबीसीमा समाचार पढिरहेका हुन्थे।’

विभिन्न राजनीतिक संघर्षबाट विभिन्न कालखण्डमा लादिएका निरकुंशता हटाउन सफल भएकै कारण रवीन्द्र मिश्र पार्टी खोले राजनीतिमा आएको भन्दै योगेशले भने, ‘हामीले बाटो नसम्याएको भए रवीन्द्र मिश्र समाचार पढिरहेका हुन्थे ।’

‘वेदको सामान्यज्ञान’ सार्वजनिक
जरोकिलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा जरोकिलो प्रतिष्ठानका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले लेखेको कृति नेपालीमा अनुवाद गर्नुभएका आचार्य तिलकप्रसाद लुइँटेलले लोकार्पण गरेका हुन् ।

पुस्तक लोकर्पण गर्दै वेद अनुवादक लुइँटेलले वेदका बारेमा जानकारी लिन चाहने सर्वसाधारणका लागि पुस्तक प्रवेशविन्दु भएको बताए । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले वेदमा सबै कुरा छ भनिए पनि यसमा भएको वैज्ञानिक पक्षका बारेमा चर्चा हुनुपर्नेमा जोड दिंए । वेदमा भएका ज्ञानको विषयगत पुस्तक प्रकाशन हुनुपर्ने उनको भनाइ थियो । प्रा डा आनन्दप्रसाद घिमिरेले लोकार्पित पुस्तकले सामान्य पाठकलाई पनि वेदका बारेमा जानकारी राख्न सघाउने बताए । डा गोविन्दशरण उपाध्यायले पछिल्लो समय वेदका बारेमा सर्वसाधारणमा बढेको जिज्ञासाको समाधान पुस्तकले गर्ने विश्वास व्यक्त गरे ।

पुस्तकका लेखक अधिकारीले विभिन्न माध्यमबाट वेदबारेमा सयौँ प्रश्न सोधिने गरेकामा सबैको प्रतिनिधि ३० प्रश्नको उत्तर समेटेर पुस्तक तयार पारिएको बताए । पुस्तकमा नेपाली, हिन्दी तथा अङ्ग्रेजीमा उपलब्ध सन्दर्भ सामग्रीको अधिकतम् प्रयोग गरिएको छ। आगामी दिनमा उपनिषद्, पुराणलगायत स्मृति गन्थको पनि समान्यज्ञान प्रकाशन हुने लेखक अधिकारीको प्रतिबद्धता थियो ।

वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले वेदमा सबै ज्ञानको सार समेटिएको बताउँदै वर्तमान समयमा वेदको वैज्ञानिक पक्षमा धेरै जिज्ञासा भएकाले यस विषयमा छुट्टै पुस्तक आवश्यक भएकामा जोड दिए ।

Comments