काठमाडौं । भारतीय टिमका खेलाडीले मीठो लवजमा नेपाली बोलिरहेको देखेर खेलअघि नै तेक्वान्दो हलमा शिल्पातिर धेरैको ध्यान गइरहेको थियो। उनका दाइले पनि दर्शकदिर्घामा नेपालीमा नै कुरा गरिरहेका थिए। त्यसबेला मानिसहरूको अनुमान थियो( ‘आसामतिरकी नेपाली भाषी होलिन्।’तर, स्याङ्जादेखि शिल्पाको समर्थनमा आएका गणेशलाई भेटेपछि थाहा लाग्यो, नेपाली बाआमाकी ‘भारतीय छोरी’ को जन गण मन भित्रको कथा।

कुरा आइनै हाल्यो शिल्पाका बुबा गंगा १२ वर्षको उमेरमा भागेर भारत पुगेको। सानोमा गाउँकै कुनै मान्छेसँग रेलमा गएको केही कुरा उनलाई याद छ। त्यसपछि दिल्ली कसरी पुगियो र के के गरियो भन्ने सम्झनाका स्पष्ट कथा त असाध्यै लामो। बुझ्न सकिने कुरा के भने( ३ सय रुपैयाँ खल्तीमा बोकेर दिल्ली पुगेको १२ वर्षको केटाले के के मात्रै दुःख पायो होला, अनुमान नै पनि लगाउन सकिन्छ।

उनी सुनाउँछन्( ‘गएकै भोलिपल्टबाट नै नोकरी सुरु गरेको हो। नोकरीसँगै त्यहीँ नै कराते पनि सिक्न थालें। त्यसपछि विस्तारै दिनहरु फेरिँदै गयो।’पहिले सोतोकान करातेमा आफ्नो क्षेत्रमा उनी उत्कृष्ट खेलाडी नै बनेको सुनाउँछन्। करातेमा ब्ल्याक बेल्ट भएपछि उनी दुई वर्ष तेक्वान्दो सिक्न गए। तेक्वान्दो सिकेको दुई वर्षपछि त प्रशिक्षक नै बनिहाले।दुई छोरी र एक छोराका पिता गंगा तेक्वान्दोको अन्तर्राष्ट्रिय मास्टर नै हुन्।

भारतमा तेक्वान्दो सेन्टर नै खोलेर उनी बालबच्चालाई तेक्वान्दो सिकाउँछन्। सन् १९९१ देखि नै आफूले भारतमा तेक्वान्दो सिकाउन थालेको गंगा बताउँछन्।२०१५, २०१७ मा दक्षिण कोरियामा तेक्वान्दो प्रतिस्पर्धामा गएर पदक जितेका उनले अहिलेसम्म छोराछोरी लेखाउने पढाउने, घर चलाउने सबै काम तेक्वान्दोबाट नै भइरहेको गर्वले सुनाउँछन्। तीन सय रुपैयाँ बोकेर ठेगानविहीन बनेर भागेका उनीसँग अहिले आफ्नै घर छ।

नानीलाई साढे ३ वर्षदेखि नै सिकाउन थाले। कोरियामा चुनचुन अन्तर्राष्ट्रिय तेक्वान्दा प्रतिस्पर्धामा उनले छोरीलाई पनि लिएर गएका थिए। उनको छोरा खेरोकी फाइटको खेलाडी हुन्। लेगामेन्टमा समस्या आएर तीन पटक अप्रेसन गरेको भएर छोरा अहिले आराममा छन्। आराममै रहे पनि बहिनीले सागमा प्रतिस्पर्धा गर्दा हौसला बढाउन उनी नेपालमा नै छन्। नेपाल लाइभमा अझै विस्तृतमा यो सामग्री प्रस्तुत गरिएको छ ।

Comments