काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो आफ्नो स्वास्थ्यका बारेमा सर्वसाधारणलाई जानकारी गराएका छन् ।

केही समय अगाडि प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट साझा गरिएको भिडियो ब्लकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सुधार भएको बताएका हुन् ।

‘मेरो स्वास्थ्य राम्ररी अगाडी बढिराखेको छ, सुधार भइरहेको छ,’ प्रधामन्त्री ओलीले भिडियो ब्लगमा भनेका छन्, ‘एउटा मेजर अप्रेसन पछि तपाईंहरु देखिरहनु भएको छ, म फेरि उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु, समाचार हेर्न सक्ने अवस्थामा छु ।’

प्रधानमन्त्री ओलीले एपेन्डिसाइटिस रोग सूचना दिएर नआउने र आफूलाई पनि अचानक देखिएको बताए । एपेन्डिक्सले भित्र मात्र होइन बाहिर पनि संक्रमण भइसकेकाले करिब एक साता आराम गर्नुपर्ने अवस्थामा आफु रहेको बताएका छन् ।

‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अचानक आइलाग्यो, त्यसमा इन्फेक्सन भएर र त्यो बाहिर पनि फैलिएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमा मात्र इन्फेक्सन सीमित भएको भए, त्यसलाई निकालेर फाल्दा सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएकाले त्यसलाई निकालेर फाल्न केही दिन, हप्ता १० दिनको उपचारको क्रम लाग्ने भयो ।’

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३ औं संस्करणको उद्घाटन समारोह पनि लाइभ हेरेको बताएका छन् । उनले सागको उद्घाटन गरेकोमा राष्ट्रपति विद्या देवी भण्डारीलाई धन्यवाद दिएका छन् । साथै उनले सो समारोहमा उपस्थित भएका सबैलाई धन्यवाद दिएका छन् ।

Comments