कास्की २ मा स्व रविन्द्र अधिकारीको पत्नी विद्या भट्टराईले चुनाव जितेको घोषणा हुँदा पनि भट्टराईको ओँठमा मुस्कान देखिएन । निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेपछि उनी झन भावुक बनिन् । पति वियोग पछि राजनीतिमा होमिएकी विद्याले आफ्नो जितलाई जनता र रविन्द्रको जीत भन्दै पोखरेली जनताको पक्षमा विकासको योजना लिएर काम गर्ने प्रतिवद्धता जनाइन् । उनले जसरी निर्वाचनको समयमा भोट माग्न घरदैलो गरेकी थिइन् त्यसरी नै अब विकासको योजनाका विषयमा छलफल गर्न फेरी घरदैलो गर्ने बताइन् ।

उनले जीतपछि भनिन्, ‘म जसरी मत माग्न जनताकहाँ गएको थिएँ, त्यसरी नै म मतदाताकहाँ जान्छु र कार्ययोजना बनाएर काम गर्छु।’उनले आफ्नो जीत सम्पुर्ण पोखरेली जनताको जीत भएको पनि बताइन् । उनले अब पोखराको पुर्वाधार विकास र नीति निर्माणको कामलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् । जीत पछि पहिलो प्रतिकृया दिँदै सांसद भट्टराईले पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रतिबद्धता जनाएकी छन् । उनले भनिन्, समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न चाहन्छु, म रवीन्द्र अधिकारीप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

निकट्तम प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलले भटराइर्बलाइ नतिजा सार्वजनिक हुनासाथ बधाइ दिएका छन्। आफूभन्दा ८ हजार ४ सय ६ मत बढी ल्याएर विजयी बनेपछि खेमराजले उनलाइ सफल कार्यकालको कामना गरेका हुन्।

उनी प्रतिद्धन्द्धीलाई भारी मतको अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी छन् । विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरेर विजय हासिल गर्दा उनका प्रतिद्धन्द्धी खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गरे।

Comments