कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो।

विद्या रवीन्द्रकी पत्नी हुन्। उनले कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार चार सय तीन मतअन्तरले जितेकी हुन्। विद्या २४ हजार तीन सय ९४ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी अधिकारीले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका हुन् ।

विद्याको जितसँगै पोखरामा नेकपा नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका छन्। निर्वाचन आयोगले मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर विजयी

सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी हुनुभएको छ ।

पोख्रेलले तीन हजार १८ मत ल्याएर विजयी हुनुभएको हो । नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी हुनुभयो । त्यस्तै, नेपाली काँग्रेसका विमन पराजुलीले दुई हजार २१६ मत ल्याउनुभयो । नौ हजार एक मत रहेको मकालुमा पाँच हजार ७७४ मत खसेको थियो । मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए ।

त्यस्तै सङ्घीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३३२ मत प्राप्त गर्नुभएको छ । नेकपाका विजयी उम्मेदवार तेजबहादुर शिक्षक पेशाबाट अवकाश लिएर राजनीतिक क्षेत्रमा आउनुभएको हो । मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा परेर २०७४ पुस ३० गते निधन भएको थियो । कटुवाल तत्कालीन एमालेबाट निर्वाचित हुनुभएको थियो ।
–––

Comments