मुम्बइ। भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’को अन्तिम कर्मवीर एपिसोडमा पुगेकी प्रतियोगीलाई शोका होस्ट अमिताभ बच्चनले पाउ छोएर स्वागत गरे । उनी समाजको मूल सुविधाबाट बञ्चित वर्गको लागि काम गर्ने गैर सरकारी संस्था इन्फोसिसकी प्रमुख पद्मश्री सुधा मूर्ति थिइन् । बलिउडका महानायकले दिएको सो सम्मान देखेर सुधा छक्क परेकी थिइन् । यो भाग आज शुक्रबार बेलुकी टेलिभिजनमा प्रसारण हुनेछ ।

शोको प्रोमो रिलिज भएको छ । प्रोमोमा अमिताभले सुधाको परिचय दिँदै भनेका छन् ‘समाजमा मूल सुविधाबाट बञ्चित अण्डरप्रिभिलेज मानिसहरुको उत्थान, उनीहरुको आत्मनिर्भरता र उनीहरुको कल्याणका लागि समर्पित, एक साधारण जीवन बिताउने असाधारण समाजसेविका, जो एक शिक्षिका र चर्चित लेखिका हुनुहुन्छ । उहाँले इन्फोसिस फाउण्डेशनको माध्यमबाट ६० हजार पुस्तकालयको स्थापना गर्नुभएको छ ।’

त्यस्तै अमिताभ बच्चनले सञ्चालन गर्ने टीभीको लोकप्रिय गेम शो ‘कौन बनेगा करोडपतिको एघारौं सिजन यसै साता शुक्रबार बन्द हुँदैछ।

१३ सातासम्म चलेको यो शोबारे अमिताभले सुरुआतमै यो शो १३ सातामा कुल ६५ भाग मात्र चल्ने जानकारी दिएका थिए। शोमा प्रत्येक साता चार जना सहभागीले आफ्नो क्षमता प्रदर्शन गरेका थिए। शुक्रबारको शो कर्मवीर एपिसोडका लागि रिजर्व गरिएको थियो।

यसमा देशमा विभिन्न कारणले चर्चित अनुहारलाई सहभागी गराइएको थियो। यस एपिसोडमा राष्ट्रिय प्रकोप उद्धार बलका जवानहरू खास पाहुना रहेका थिए। साथै शोमा बलिउडका चर्चित कलाकारहरू पनि सहभागी भए।

कौन बनेगा करोडपतिको एघारौं सिजनमा सर्वाधिक सात करोड राशिको पुरस्कार राखिएको थियो। तर कसैले सबै १६ प्रश्नको सही उत्तर दिन सकेनन्।

हेर्नुहोस् प्रोमो

Comments