संविधानसभाको निर्वाचन २८ चैत २०६४ मा एकै दिन सम्पन्न भयो । अन्तरिम संविधानबमोजिम संविधानसभाको पहिलो बैठक १५ जेठ २०६५ मा गणतन्त्रको औपचारिक घोषणा गर्ने तयारी हुँदै थियो । संविधानसभा निर्वाचनमा म झापाबाट पराजित भए पनि निर्वाचनको जनादेशअनुसार सरकार हस्तान्तरणको तयारीमा थियौं ।

संविधानबमोजिम १५ जेठमा गणतन्त्र घोषणा संविधानसभाको पहिलो बैठकबाट परित गराउँदा गणतन्त्रको प्रस्ताव मैले नै गरें, प्रधानमन्त्रीको तर्फबाट ।

त्यसबेला संविधानसभाको ज्येष्ठ सदस्यका रूपमा कांग्रेस सांसद केबी गुरुङले सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो । गणतन्त्र घोषणा भयो । तर, तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी छोड्ने छाँट देखाउनुभएको थिएन ।

गणतन्त्र घोषणा गरे पनि राजा ज्ञानेन्द्रले नारायणहिटी नछाडेकोमा धेरै गुनासो आउन थाले । तत्कालीन राजा र राजपरिवारका सदस्यको नाममा रहेका सबै चल–अचल सम्पत्ति संसदबाट पारित भएको कानुनबमोजिम नेपाल ट्रस्टको कार्यालयमार्फत राष्ट्रियकरण गर्ने भनिएको थियो ।

त्यसका लागि नेपाल ट्रस्टको कार्यालय स्थापना गरी राजाको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रक्रिया अघि बढाउन कठिनाइ भयो । गणतन्त्र घोषणा भएको भोलिपल्टदेखि हरेक दिन गृह सचिव उमेशप्रसाद मैनाली नागरिक भइसक्नुभएका ज्ञानेन्द्रसँग कुराकानी गरेर गणतन्त्र घोषणालाई कार्यान्वयनका लागि आग्रह गर्न नारायणहिटी जान थाल्नुभयो ।

तर, उहाँलाई ज्ञानेन्द्रले झुलाइरहनुभएको रहेछ । नारायणहिटीमा रहेका पशुपतिभक्त महर्जनसँग टेलिफोनमा वार्ता तथा छलफल गर्ने अनि फर्किने दिनचर्या नै चलेछ, उहाँको ।

सचिव मैनालीलाई नारायणहिटीका महर्जन, सैनिक सचिव र अर्का सहायक रथीले भेटेर छलफल गर्ने र बाहिर बाहिर घुमाउन थालेछन् । एक दिन गृह सचिव उमेश मैनालीले नारायणहिटी दरबार सरकारको मातहत ल्याउने विषय हाम्रो लेभलबाट सम्भव हुने देखिएन भनेर मलाई भन्नुभयो ।

दरबारका कर्मचारी र सैनिक जर्नेलसँग कुरा गरेर सम्भव नहुने भन्दै मसँग सबै कुरा गर्नुभयो । त्यसपछि हामी गिरिजाबाबु (तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला) लाई भेट्न २५ जेठमा साँझ बालुवाटार गयौं । ज्ञानेन्द्र सर्वसाधारण नेपाली नागरिकको हैसियतमा भए पनि नारायणहिटी नछोडेको विषयलाई लिएर केही नेता चिन्तित भएको पाएँ ।

गिरिजाबाबुले भन्नुभयो, ‘ज्ञानेन्द्रले के चाहँदा रहेछन् सबै बुझ्नू र उनलाई उचित आवासको निर्णय क्याबिनेटबाट गर्ने विश्वास दिलाउनू ।’ मैले गिरिजाबाबुलाई भनें, ‘मलाई जिम्मेवारी दिनुहुन्छ भने तपाईंका तर्फबाट ज्ञानेन्द्रसँग कुरा गर्न सक्छु ।’

उहाँले प्रश्न गर्नुभयो, ‘मेरो तर्फबाट तपाईंलाई यस्तो जिम्मेवारी लिँदा रिस्क हुँदैन ?’ उहाँको मनमा एक प्रकारको शंका थियो । तर, मैले दृढतासाथ जिम्मेवारी पूरा गर्छु भनेपछि उहाँले मलाई अघि बढ्न संकेत गर्नुभयो ।

मैले गृह सचिव उमेशप्रसाद मैनाली (हाल लोकसेवा आयोगका अध्यक्ष)सँग कुराकानी गरेर भोलिपल्ट बिहान (२६ जेठमा) नारायणहिटी जाने निधो गरें । २६ जेठमा बिहान मुख्य सचिव भोजराज घिमिरे, गृह सचिव उमेश मैनाली र गृहका सहसचिव मोदराज डोटेलसहित पाँचजना सचिव मसँग हुनुहुन्थ्यो । ठीक सवा ११ बजे नारायणहिटी दरबारको पश्चिम गेटबाट गाडी लिएर मैले भित्र प्रवेश गर्न खोजें । त्यहाँ सेनाले गेट लगाएको रहेछ । अनि मेरो बडी गार्ड सेनाका हबल्दार (कमल दाहाल) गाडीबाट उत्रिए ।

मैले उनलाई हप्काएँ, ‘तिमी किन गाडीबाट उत्रिएको ? कसको आदेशले उत्रिएको ?’ उनले भने, ‘यहाँ सेनाका बडी गार्ड गाडीमा सँगै जाने चलन छैन ।’

मैले भने, ‘कसले भन्यो तिमीलाई यहाँबाट उत्रन ? पुरानो राजसंस्था छैन । गणतन्त्र आइसक्यो ।’ पश्चिम गेटमा रहेका सैनिक जवानलाई देखाएर मेरो बडी गार्डले भने, ‘उहाँहरुले दिनुहुन्न ।’

मैले भने, ‘ए भाइ, तिमीलाई यस्तो आदेश कसले दियो ? मेरो बडी गार्ड मसँग नभएर कोसँग हुन्छ ? मैले कोसँग भन्नुपर्छ ?’ त्यसपछि उनीहरुले ढोका खोले र म नारायणहिटीतर्फ गएँ । त्यहाँ मुख्यसचिव र गृहसचिव सचिवसहित हुनुहुँदो रहेछ ।

ज्ञानेन्द्रले हामीलाई मंगल सदनमा बस्न भन्नुभएको रहेछ । हामी त्यहाँ गएको पाँच मिनेटपछि ज्ञानेन्द्र आउनुभयो । मैले अन्य आमनागरिकलाई गर्ने अभिवादन जस्तै नमस्कार गरें ।

सम्बोधन केही पनि गरिनँ । मसँग नेपाल सरकारका तर्फबाट पाँचजना र ज्ञानेन्द्रका तर्फबाट पशुपतिभक्त महर्जनसहित त्यस्तै चार–पाँच जना थिए ।

मैले भनें, ‘गणतन्त्र घोषणा जनताको प्रतिनिधिको संस्था संविधानसभाले गरिसकेको यहाँलाई जानकारी नै होला । गणतन्त्र घोषणा भएको यतिका दिन बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै गुनासा आएका छन् ।

शान्ति सुरक्षाको अवस्था जटिल बन्दै छ । त्यसैले सरकारले गरेको निर्णयलाई यहाँले सहयोग गर्नुपर्यो भनेर सरकारको सन्देश लिएर हामी आएका हौं ।’ त्यसपछि उहाँले भन्नुभयो, ‘हामी पनि सरकारको यस्तो निर्णय कार्यान्वयन नगर्ने पक्षमा छैनौं । तर, हाम्रा पनि केही कुरा छन् ।’

केही बेर कुराकानी गरेपछि ज्ञानेन्द्रले भन्नुभयो, ‘म गृहमन्त्रीसँग एक्लै केही राजनीतिक कुरा गर्न चाहन्छु ।’ त्यसपछि उहाँ र मबीच मात्रै कुराकानी भयो । कुराकानीको क्रममा ज्ञानेन्द्रले भन्नुभयो, ‘यहाँ मेरो जिजुमुवा (सरला, तत्कालीन राजा त्रिभुवनकी रानी) र मुमा बडामहारानी (तत्कालीन राजा महेन्द्रकी कान्छी रानी रत्न) को भावना जोडिएको छ । उहाँहरुलाई यो उमेरमा कसरी बाहिर निकाल्ने होला । मुमा बडामहारानीको महेन्द्र मञ्जिलसँग भावनात्मक सम्बन्ध जोडिएको छ ।’

‘यो उमेरमा उहाँहरुलाई बाहिर निकाल्ने पक्षमा सरकार छैन,’ मैले उहाँलाई आश्वासन दिएँ । उहाँले भन्नुभयो, ‘निर्मल निवासमा हामी जान सक्दैनौं । त्यो हाम्रो युवराजको हो । हाम्रो उचित वासस्थानको व्यवस्था होस् भन्ने हामी चाहन्छौं ।’ एकल वार्ताकै क्रममा मैले भनें, ‘यी सब कुरा म प्रधानमन्त्रीसम्म पुर्याउँछु र तपाईंका मागहरु पूरा गर्न क्याबिनेट निर्णय गर्ने विषयमा छलफल गर्छौं ।’

‘हामीले नारायणहिटीबाट रातारात बहुमूल्य वस्तु हराउन थालेको र बाहिर लगिएको भन्ने हल्ला सुन्नुपर्दा राम्रो लागेको छैन,’ मैले भनें । त्यसपछि उहाँले श्रीपेचसहित बहुमूल्य सामग्री सुरक्षित रहेको बताउनुभयो । उहाँले केही दिनमै आफूहरुले नारायणहिटी खाली गर्ने पनि बताउनुभयो । उहाँले बासस्थान छोड्नुअघि केही कुरा भन्ने विचार प्रकट गर्नुभयो ।

मैले भनें, ‘हुन्छ, आफूलाई लागेका कुरा तपाईंले पत्रकार सम्मेलन गरेर पनि भन्न सक्नुहुन्छ ।’ त्यसपछि दुवैतर्फका सचिव र सहयोगीहरु आउनुभयो । ज्ञानेन्द्रले दरबारको केही भाग देखाइदिन र जिम्मेवारी सुम्पिन निर्देशन दिनुभयो । मैले नारायणहिटीका केही भाग हेरें । गाई पनि पालेका रहेछन् । त्यपछि मैले कर्मचारीलाई छोडेर करिब दुई घण्टापछि बाहिर निस्कें ।

सिधै गिरिजाबाबुकहाँ गएर सबै कुरा सुनाए । त्यसपछि हामीले मन्त्रिपरिषद्को बैठकमार्फत अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निवर्तमान राजा ज्ञानेन्द्रका लागि बालाजुस्थित नागार्जुनको दरबारमा बस्न दिने निर्णय गर्यौं ।

यस्तो निर्णय भएको भोलिपल्ट राजधानीमा व्यापक विरोध भयो । हामीले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसहित नागार्जुन दरबारमै गएर पत्रकार सम्मेलन ग¥यौं ।

त्यसको पर्सिपल्ट २९ जेठमा ज्ञानेन्द्र पत्रकार सम्मेलन गरी साँझमा बाहिरिनुभयो । त्यसको भोलिपल्ट सचिवहरु प्रतापकुमार पाठक, गोविन्द कुसुम, वामनप्रसाद न्यौपाने र पशुपतिभक्त महर्जनसँगको सल्लाहमा श्रीपेचलाई फायरप्रुफमा लाहाछाप लगाएर आउनुभएछ ।

बाहिर राजालाई नारायणहिटीबाट हटाएर अर्को दरबारमा लगेको भनेर निकै विरोध भयो । गिरिजाबाबुको सल्लाहमै १ असारमा नारायणहिटीमा नेपालको झन्डोत्तोलन गरियो र विधिवत् रुपमा नारायणहिटी नेपाल सरकारको मातहतमा आयो ।

दरबार छोड्नुअघि तत्कालीन राजा ज्ञानेन्द्रसँग भएको भेटबारे शिलापत्रकर्मी लीलाराज खनालले गरेको कुराकानीमा आधारित

Comments